काठमाडौं । नाइजेरियाको क्वारा राज्यमा बन्दुकधारीहरूले १६२ जनाको हत्या गरेपछि राष्ट्रपति बोला अहमद टिनुबुले तत्काल सेनाको बटालियन तैनाथ गर्दै देशको सुरक्षा व्यवस्था सुदृढ पार्ने आदेश दिएका छन् ।
मंगलबार राति वोरो गाउँमा भएको आक्रमण सेनाको हालैका कारबाहीपछि भएको हो । सेनाले यस क्षेत्रमा ‘आतंकवादी तत्वहरू’ विरुद्ध कारवाही गरेको थियो । बन्दुकधारीहरूले पसल र परम्परागत शासकको घरमा आगो लगाएको थिए र घाइतेहरू झाडीमा भागेको रेडक्रसका क्वारा राज्य सचिव बाबोमो आयोदेजीले बताए।
आयोदेजीका अनुसार मृतकको सङ्ख्या हाल १६२ पुगेको छ र थप शवहरूको खोजी जारी छ । प्रहरीले आक्रमणको पुष्टि गरेको छ, तर हताहतको सङ्ख्या स्पष्ट छैन ।
प्रारम्भिक तथ्यांकअनुसार स्थानीय सांसद साईदु बाबा अहमदले ३५–४० जनाको मृत्यु भएको बताए, तर घाइतेहरू भागेका कारण अझै शव फेला पर्ने सम्भावना रहेको थियो । क्वारा राज्यका गभर्नर अब्दुल रहमान अब्दुल रजाकले मृतकको सङ्ख्या ७५ जना रहेको बताएका थिए । सेना तैनाथ गर्दै राष्ट्रपति टिनुबुले जिहादीहरूको विचारधारालाई अस्वीकार गर्ने गाउँलेहरू विरुद्ध गरिएको ‘जङ्गली आक्रमण’ को निन्दा गरे । राष्ट्रपतिको विज्ञप्तिमा आक्रमणकारीहरूले समुदायका सदस्यहरूको हत्या गरेकामा टिनुबुले आक्रोश व्यक्त गरेका छन् ।