काठमाडौँ । विश्वप्रसिद्ध अमेरिकी सञ्चारमाध्यम 'वासिङ्टन पोस्ट' ले एकै पटक ३०० भन्दा बढी पत्रकार र कर्मचारीलाई सेवाबाट हटाएको छ । पत्रिकाको व्यवस्थापनले कर्मचारीहरूलाई एक 'स्टाफ कल' मार्फत करिब ३० प्रतिशत जनशक्ति कटौती गरिएको जानकारी दिएको हो ।
अमेजनका संस्थापक तथा विश्वका तेस्रो धनी व्यक्तिसमेत रहेका जेफ बेजोसको स्वामित्वमा रहेको यो अखबारले आर्थिक संकट र घट्दो पाठक संख्यालाई कारण देखाउँदै यस्तो कदम चालेको जनाएको छ ।
खेलकुद र पुस्तक विभाग बन्द पुनर्संरचनाका नाममा पोस्टले आफ्नो खेलकुद विभाग (स्पोर्ट्स डेस्क) र पुस्तक खण्ड (बुक्स सेक्सन) पूर्ण रूपमा बन्द गरेको कोलम्बिया जर्नलिजम् रिभ्यूले लेखेको छ । त्यस्तै, पत्रिकाको पडकास्ट 'पोस्ट रिपोर्ट्स' पनि स्थगित गरिएको छ । खेलकुद विभागका केही पत्रकारलाई 'फिचर डेस्क' मा सारिए पनि अधिकांशले जागिर गुमाएका छन् ।
अन्तर्राष्ट्रिय ब्युरोमा समेत पत्रकारहरुको कटौती गरिएको छ । भारत, खाडी क्षेत्र, अष्ट्रेलिया र युक्रेनमा कार्यरत ब्युरो प्रमुख र संवाददाताहरूलाई हटाइएको छ । युक्रेन ब्युरो प्रमुख सियोभान ओ ग्रेडी र संवाददाता लिजी जोन्सन पनि हटाइएका पत्रकारहरूको सूचीमा छन् ।