काठमाडौं । अस्ट्रेलियाको मेलबर्नमा रहेको महात्मा गान्धीको एक भव्य कांस्य प्रतिमा चोरी भएको छ । यस घटनाले अस्ट्रेलियामा बसोबास गर्ने भारतीय समुदायलाई स्तब्ध बनाएको छ । भारत सरकारले यसप्रति आपत्ति जनाएको छ ।
यो घटना मेलबर्नको उपनगर रोविलस्थित ‘अस्ट्रेलियन इन्डियन कम्युनिटी सेन्टर’मा भएको हो । स्थानीय प्रहरीका अनुसार तीनजना अज्ञात व्यक्तिले ‘एंगल ग्राइन्डर’ले प्रयोग गरेर आधारबाट काटेर प्रतिमा लगेका हुन् । सामाजिक सञ्जालमा भाइरल भएका तस्बिरहरूमा देखिएअनुसार चोरहरूले गान्धीको प्रतिमालाई गोलीगाँठोबाट काटेका छन्, जसका कारण त्यहाँ गान्धीका खुट्टाका पाइला मात्र बाँकी छन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले यस घटनाको कडा निन्दा गरेका छन् । भारतीय सांस्कृतिक सम्बन्ध परिषद्ले उपहार स्वरूप दिएको यो कांस्य प्रतिमाको वजन ४२६ किलोग्राम रहेको थियो । यसको उद्घाटन १२ नोभेम्बर २०२१ मा अस्ट्रेलियाका तत्कालीन प्रधानमन्त्री स्कट मोरिसनले गरेका थिए ।