काठमाडौँ । सन् २०२४ को सुरुमा एप्पललाई उछिन्दै विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी बनेको माइक्रोसफ्ट पछिल्ला केही साता यता लगातार दबाबमा देखिएको छ। गत बिहीबार मात्रै कम्पनीले एकै दिन करिब ४ खर्ब अमेरिकी डलर बराबरको बजार मूल्य गुमाएको रिपोर्ट रहेको छ। यसबीच, मानव बेचबिखन तथा बाल यौन अपराधमा दोषी ठहर भएका जेफ्री एप्स्टिनसँग सम्बन्धित अदालतको आदेशअनुसार सार्वजनिक गरिएका फाइल्समा माइक्रोसफ्टका संस्थापक बिल गेट्सको नाम पटक–पटक उल्लेख भएको खबर बाहिरिए पछि कम्पनीको छवि थप विवादमा परेको छ।
माइक्रोसफ्टले सार्वजनिक गरेको पछिल्लो त्रैमासिक वित्तीय विवरणमा क्लाउड सेवाको वृद्धिदर अपेक्षाभन्दा कमजोर देखिएको छ। साथै, एआई डेटा सेन्टर र चिप्समा बढ्दो पुँजीगत खर्चका कारण निकट अवधिमा कम्पनीको मार्जिन दबाबमा पर्ने संकेत व्यवस्थापनले दिएको छ। उच्च ब्याजदर, टेक कम्पनीहरूको मूल्यांकनबारे लगानीकर्ताको सावधानी, र नाफा बुकिङको कारण पनि माइक्रोसफ्टसहित ठूला टेक सेयरमा बिक्री दबाब देखिएको विश्लेषकहरूको भनाइ छ।
ब्लुमबर्गका विश्लेषक जेम्स सेफार्टका अनुसार, आम्दानी विवरणपछि बनेको दबाबसँगै एप्स्टिन फाइल्समा गेट्ससँग जोडिएका पुराना विवाद चर्चामा आउँदा बजारमा नकारात्मक भावना थपिएको हो।