काठमाडौं । भारतको मुम्बईस्थित छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इन्डिया र इन्डिगोका दुई विमानका पखेटा एक–आपसमा ठोक्किएको घटना भएको छ ।
मंगलबार साँझ करिब साढे सात बजे भएको उक्त घटनामा दुवै विमानको पखेटाको टुप्पो भागमा क्षति पुगेको जनाइएको छ । तर विमानमा सवार सबै यात्रु सुरक्षित रहेको अधिकारीहरूले बताएका छन् ।
भारतको नागरिक उड्डयन नियामक निकाय डायरेक्टोरेट जनरल अफ सिभिल एभिएसन (डीजीसीए) का अनुसार एयर इन्डियाको उडान एआई–२७३२ विमान उडानअघि एम–४ पार्किङ क्षेत्रमा रोकिएको अवस्थामा थियो । सोही क्रममा इन्डिगोको ए–३२० विमान अवतरण गरी पार्किङतर्फ जाँदै गर्दा दुबै विमानका पखेटा आपसमा ठोक्किएका हुन् ।
घटनापछि दुवै विमानलाई तत्काल उडानमा जान नदिई प्राविधिक परीक्षणका लागि रोकिएको थियो । डीजीसीएको मुम्बई कार्यालयका अधिकारीहरू घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेका छन् ।
समाचार संस्था पीटीआईका अनुसार एयर इन्डियाको उक्त विमान मुम्बईबाट तमिलनाडुको कोयम्बटूरतर्फ उडान भर्ने तयारीमा थियो । दुर्घटनापछि उडान रद्द गरिएको र सबै यात्रुलाई सुरक्षित रूपमा विमानबाट ओरालिएको जनाइएको छ ।
एयर इन्डिया र इन्डिगो दुवै कम्पनीले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेका छन् र दुवै विमानको प्राविधिक जाँच भइरहेको जानकारी दिएका छन् । घटनाको वास्तविक कारणबारे विस्तृत अनुसन्धानपछि मात्र निष्कर्ष सार्वजनिक गरिने बताइएको छ ।