काठमाडौँ । लिबियाका पूर्व नेता मुअम्मर गद्दाफीका छोरा सैफ अल–इस्लाम गद्दाफीको गोली हानी हत्या भएको खबर सार्वजनिक भएको छ। पश्चिमी लिबियाको जिन्तान सहरमा रहेको उनको निवासमा आक्रमणकारी समूहले प्रवेश गरी मंगलबार दिउँसो उनलाई गोली हानेको जनाइएको छ।
सैफ अल–इस्लामसँग सम्बद्ध राजनीतिक समूहले भने घटनाबारे औपचारिक पुष्टि गरिसकेको छैन। उपलब्ध विवरणअनुसार चार जना मुख छोपेका व्यक्तिहरू घरभित्र प्रवेश गरी आक्रमण गरेका थिए। आक्रमणअघि घरमा जडान गरिएको सीसीटीभी प्रणाली नष्ट गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
सैफ अल–इस्लामका राजनीतिक सहयोगी अब्दुल्लाह ओथमान अब्दुर्रहीमले सामाजिक सञ्जालमार्फत घटनाको जानकारी दिँदै यसलाई योजनाबद्ध र विश्वासघाती हत्या भनेका छन्। उनका अनुसार यस घटनाको निष्पक्ष र गम्भीर छानबिन गर्न लिबियाको न्याय प्रणाली र अन्तर्राष्ट्रिय समुदायले पहल गर्नुपर्छ।
यद्यपि त्रिपोली र जिन्तानका स्थानीय अधिकारीहरूले हालसम्म घटनाबारे आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्। तर लिबियाली सञ्चारमाध्यम तथा केही अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले सैफ अल–इस्लामको मृत्यु भएको समाचार प्रसारण गरिरहेका छन्।
सन् २०११ मा नाटो समर्थित विद्रोहका क्रममा मुअम्मर गद्दाफी मारिएका थिए । त्यस समय सैफ अल–इस्लामलाई उनका पिता पछि लिबियाको नेतृत्व सम्हाल्ने सम्भावित उत्तराधिकारीका रूपमा हेरिँदै आएको थियो। विद्रोहपछि उनलाई जिन्तान क्षेत्रमा पक्राउ गरी लामो समय हिरासतमा राखिएको थियो।
सन् २०१७ मा उनी रिहा भएका थिए र त्यसपछि जिन्तानमै बस्दै आएका थिए। सन् २०२१ मा उनले राष्ट्रपति निर्वाचनमा भाग लिने प्रयास गरेका थिए। तर विभिन्न कानुनी र राजनीतिक विवादका कारण सो निर्वाचन प्रक्रिया नै रोकिएको थियो।