काठमाडौँ । मनाङमा एक सातापछि पुनः हिमपात भएको छ । अघिल्लो मंगलबार (माघ १४) हिमपात भएको मनाङमा मंगलबार फेरि हिमपात भएको हो । माथिल्लो मनाङको ढिकुर पोखरीदेखि माथिल्लो क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार मंगलबार बिहान एकछिन घाम लागेकोमा दिउँसो मौसम बिग्रिएको थियो । १–२ बजेदेखि बिस्तारै हिउँ पर्न थालेको र ३ बजे आसपासदेखि बढी पर्न थालेको उनले बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका लेखापाल उमाकान्त सापकोटाका अनुसार मनाङ गाउँ साथै माथिल्लो क्षेत्रमा दिउँसो ३ बजेदेखि हिमपात भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार मनाङको माथिल्लो क्षेत्रमा दिउँसोदेखि हिमपात भएको छ । सदरमुकाम चामेमा बादल लागेको तर, पानी र हिउँ भने नपरेको उनले बताए । ‘दिउँसोसम्म घाम लागेको थियो । १–२ बजेदेखि मौसम बदलियो,’ उनले भने, ‘अस्तिको जस्तै हेभी त अहिलेसम्म परेको छैन । हिउँ भने पर्न थालेको छ ।’
उनका अनुसार एक साताअघि परेको हिमपातका कारण बन्द सडक केही दिनअघि खुलेको थियो । बुधबार माथिल्लो मनाङतर्फ सवारी साधन पनि गएका थिए । अब सडक बन्द भएको उनले बताए । ‘हिँडेर जाने पर्यटकलाई त खासै समस्या नहोला । मोटरसाइकलमा आउनेलाईचाहिँ समस्या भयो,’ उनले भने । उनले माथिल्लो क्षेत्रसँगै नार्पाभूमि क्षेत्रमा पनि हिमपात भएको हुन सक्ने बताए ।