काठमाडौँ । भारत र संयुक्त राज्य अमेरिकाबीचको व्यापारिक सम्बन्धले नयाँ गति लिएको छ। दुबै देशबीच भएको पछिल्लो समझदारीअनुसार अब अमेरिकी बजारमा प्रवेश गर्ने भारतीय वस्तुमा पहिलेभन्दा कम भन्सार शुल्क लाग्ने भएको छ। सम्झौतापछि अमेरिकाले भारतबाट आयात हुने सामानमा लगाउँदै आएको २५ प्रतिशत ‘रेसिप्रोकल ट्यारिफ’ घटाएर १८ प्रतिशतमा झारेको छ। यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्तापछि सार्वजनिक गरिएको हो।
अमेरिकाले ‘मेड इन इन्डिया’ उत्पादनलाई प्राथमिकता दिने संकेत गरेको छ भने भारतले पनि बदला स्वरूप अमेरिकी वस्तुमा लगाइने कर र गैरभन्सार अवरोध क्रमशः हटाउने तयारी थालेको जनाएको छ। सम्झौताका प्रमुख बुँदामध्ये भारतले आगामी वर्षहरूमा अमेरिकाबाट ऊर्जा, प्रविधि, कृषि सामग्री र कोइला जस्ता क्षेत्रमा ५०० अर्ब अमेरिकी डलरभन्दा बढीको आयात गर्ने प्रतिबद्धता जनाएको छ। यसबाट अमेरिकी उद्योगलाई ठूलो फाइदा पुग्ने अपेक्षा गरिएको छ।
भारतीय विदेशमन्त्री एस। जयशंकरका अनुसार यो सहकार्यले ‘मेक इन इन्डिया’ अभियानलाई अन्तर्राष्ट्रिय बजारमा अझ प्रतिस्पर्धी बनाउनेछ र दुबै देशमा रोजगारी सिर्जनामा सहयोग पुर्याउनेछ। गृहमन्त्री अमित शाहले यसलाई भारत–अमेरिका सम्बन्धको ऐतिहासिक उपलब्धि भनेका छन्।
तर विपक्षी दल कांग्रेसले भने यस निर्णयप्रति असन्तोष जनाएको छ। कांग्रेस नेता जयराम रमेशले अमेरिकाको दबाबमा भारतले असमान सम्झौता गरेको आरोप लगाएका छन्। राजनीतिक बहस जारी रहे पनि यो समझदारीले विश्व व्यापार सन्तुलनमा भारत र अमेरिकाको भूमिका थप मजबुत बनाउने संकेत गरेको देखिन्छ।