काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन वार्तापछि भारतसँग नयाँ व्यापार सम्झौता भएको घोषणा गरेका छन् ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै भने, “प्रधानमन्त्री मोदीसँगको मित्रता र सम्मानका कारण उहाँकै अनुरोधमा हामी भारत र अमेरिकाबीच व्यापार सम्झौता गर्न सहमत भएका छौँ । यो तुरुन्तै लागु हुनेछ । यसअन्तर्गत अमेरिकाले लिँदै आएको पारस्परिक भन्सार दर २५ प्रतिशतबाट घटाएर १८ प्रतिशत कायम गरिएको छ ।”
ट्रम्पका अनुसार भारतले रुसी तेल खरिद गर्न बन्द गर्ने सहमति जनाएको छ । यद्यपि, यस्तो दाबी ट्रम्पले विगतमा पनि गर्दै आएका थिए । सम्झौताअनुसार भारतले अमेरिकी सामानमा लाग्ने आयात कर शून्यमा झार्ने र अमेरिकाबाट ५०० अर्ब डलर बराबरको ऊर्जा, प्रविधि र कृषि उत्पादन खरिद गर्ने ट्रम्पको भनाइ छ ।
तेल खरिदबारे थप विवरण नदिई उनले भारतले अब अमेरिका र भेनेजुएलाबाट तेल खरिद गर्ने बताए । भारत सरकारले यसबारे हालसम्म कुनै आधिकारिक विज्ञप्ति जारी नगरे पनि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत भन्सार दर कटौतीको स्वागत गरेका छन् ।