काठमाडौँ । अस्ट्रेलियामा १६ वर्षमुनिका प्रयोगकर्ताहरूको सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनअनुसार स्न्यापच्याटले चार लाख १५ हजार खाता बन्द गरेको छ। कम्पनीले सोमबार यति ठूलो संख्यामा खाता बन्द गरेको जानकारी दिएको हो। यद्यपि, उसले केही किशोर(किशोरीहरूले उमेर प्रमाणीकरण प्रणाली छल्न सक्ने चेतावनी दिएको छ।
कम्पनीले अस्ट्रेलियाली निकायहरूलाई एप्लिकेसनमार्फत प्रयोगकर्ताको उमेर जाँच गर्न बाध्य गर्न आग्रह गरेको छ, जसलाई कम्पनीले ‘थप सुरक्षा उपाय’ भनेको छ । स्न्यापच्याट, मेटा, टिकटक र युट्युब जस्ता प्लेटफर्महरूले नयाँ कानुन अनुसार नाबालिग प्रयोगकर्ताको खाता रोक्नुपर्छ । उक्त कानुन १० डिसेम्बर सन् २०२५ मा लागू भएको थियो ।
कम्पनीहरूले कानुन पालना नगरेमा करिब ४९ करोड ५० लाख अस्ट्रेलियन डलर जरिवाना तिर्नुपर्ने छ । अस्ट्रेलियाको अनलाइन सुरक्षा नियामकले गत महिनामा प्रविधि कम्पनीहरूले चार लाख ७० हजार खाता पहिले नै ब्लक गरेको बताएको थियो ।