काठमाडौं । स्विट्जरल्यान्डको क्रान्स–मोन्टानास्थित ‘ले कन्स्टेलेसन’ नामक बारमा नयाँ वर्षको अवसरमा भएको भीषण आगलागीमा ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ।
अस्पतालमा उपचाररत १८ वर्षीय एक स्विस किशोरको शनिबार मृत्यु भएपछि मृतक संख्या बढेको हो। यो दुर्घटनालाई स्विट्जरल्यान्डको हालको इतिहासमै सबैभन्दा गम्भीर घटनामध्ये एक मानिएको छ।
मृत्यु हुनेहरू १४ देखि ३९ वर्ष उमेर समूहका रहेका छन्। मृतकमध्ये २३ जना स्विस नागरिक तथा १८ जना विदेशी नागरिक रहेको बताइएको छ। अधिकांश मृतक किशोर–किशोरी रहेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।
अनुसन्धानका क्रममा स्याम्पेनको बोतलमा जडान गरिएको ‘स्पार्कलर’ छतमा प्रयोग गरिएको ध्वनिरोधक फोमसँग सम्पर्कमा आउँदा आगो सल्किएको हुन सक्ने अनुमान गरिएको छ। उक्त बारमा सन् २०१९ यता कुनै पनि अग्नि सुरक्षा निरीक्षण नगरिएको तथ्य पनि बाहिर आएको छ।
घटनापछि बारका सञ्चालकमाथि लापरबाहीका कारण ज्यान गएको अभियोगमा आपराधिक अनुसन्धान सुरु गरिएको छ। यसैबीच, आफ्ना नागरिक गुमाएको इटालीले बारका मालिकलाई धरौटीमा रिहा गर्ने स्विस अदालतको निर्णयप्रति असन्तुष्टि जनाएको छ। यस विषयलाई लिएर दुई देशबीच कूटनीतिक तहमा तनाव देखिएको छ।
आगलागीमा घाइते भएका ८१ जनाको स्विट्जरल्यान्ड तथा अन्य युरोपेली देशका अस्पतालमा उपचार भइरहेको छ।