काठमाडौं । इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईले अमेरिकाले गर्ने कुनै पनि आक्रमणले मध्यपूर्वमा ‘क्षेत्रीय युद्ध’ सुरु गराउने चेतावनी दिएका छन् । बीबीसीका अनुसार इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनेईले इरानमाथि अमेरिकाले जस्तोसुकै हमला गरेमा क्षेत्रीय द्वन्द्व फैलने चेतावनी दिएका छन्। यसले दुई देशबीचको तनावलाई थप उत्कर्षमा पुर्याएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानबारे गम्भीर छलफलहरूमा रहेको भन्दै केही स्वीकार्य सहमतिमा पुग्न सकिने आशा व्यक्त गरेका थिए। खामेनेईको यो टिप्पणी हालसम्मकै सबैभन्दा प्रत्यक्ष धम्की मानिएको छ । अमेरिकी विमानवाहक पोत ‘यूएसएस अब्राहम लिंकन’ र अन्य युद्धपोतहरू अहिले अरब सागरमा तैनाथ छन् । इरानमा हालै भएका प्रदर्शनहरूमाथि सरकारले गरेको दमनपछि ट्रम्पले ती जंगी युद्धपोतलाई त्यस क्षेत्रमा पठाएका थिए ।
खामेनीले भने, “हामी उत्तेजना फैलाउने पक्षमा छैनौँ र कुनै पनि देशमाथि आक्रमण गर्न चाहँदैनौँ । तर, इरानी राष्ट्रले आफूमाथि हमला गर्ने वा दुःख दिने जोकोहीलाई पनि कडा जवाफ दिनेछ ।”
यसैबीच, ट्रम्पले इरानमाथि सैन्य बल प्रयोग गर्ने वा नगर्ने भन्नेबारे अझै स्पष्ट संकेत दिएका छैनन् । उनले बारम्बार इरान वार्ताका लागि इच्छुक रहेको दाबी गर्दै आएका छन् । ट्रम्पले तेहरानको परमाणु कार्यक्रमलाई मुख्य मुद्दाको रूपमा उठाउँदै त्यसलाई समाधान गर्न चाहेको बताएका छन् । अमेरिकी सेनाको सेन्ट्रल कमान्डले यस अभ्यासका क्रममा आफ्ना युद्धपोत, विमान वा व्यापारिक यातायातमा अवरोध पुर्याउने कुनै पनि गतिविधि नगर्न इरानलाई कडा चेतावनी दिएको छ ।