धनगढी । भारतमा डा.तारा जोशी जिताऔँ अभियान सुरु गरिएको छ । डडेल्धुरा घर भई हाल रोजगारीको सिलसिलामा प्रवासमा रहेका केही युवाहरूले डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बनेका डा. तारा जोशीलाई जिताउन भन्दै भारको नयाँ दिल्लीबाट जोशी जिताऔँ अभियान सुरु गरेका हुन् ।
प्रवासी भारतीय एकता समाज दिल्लीले सो अभियान सुरु गरेको हो । नयाँ दिल्लीबाट सुरु भएको सो अभियान भारतका विभिन्न क्षेत्रमा समेत हुने सो अभियानका सदस्य खेम राज धामीले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका जोशीबाट डडेल्धुरामा केही न केही परिवर्तन हुने आशाका साथ डा. जोशीलाई मत दिन प्रवासीहरूले अपिल गरेका छन् ।
आफूहरू प्रवासमा रहे पनि घर-घरमा फोन गरेर डा .जोशीलाई मत दिन आग्रह गरिरहेको धामीले जानकारी दिए । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गढ मानिने डडेल्धुरामा यस पटकको चुनावलाई विशेष महत्वका साथ हेरिएको छ । देउवा चुनावी मैदानमा नभए पनि काँग्रेसबाट नैनसिंह महर, नेकपा एमालेबाट चक्र स्नेही, नेकपाबाट मानसिंह माल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. जोशी, राप्रपाबाट गोविन्द खडायत सहित अन्य दल र स्वतन्त्र उम्मेदवार छन् ।

