काठमाडौँ । अमेरिकी उद्यमी एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस–एक्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सेवाको बढ्दो मागलाई सम्बोधन गर्न अन्तरिक्षमा ठूलो संख्यामा भूउपग्रह प्रक्षेपण गर्ने योजना अघि सारेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार स्पेस–एक्सले करिब १० लाख भूउपग्रह प्रक्षेपण गर्न अनुमति माग्दै अमेरिकी सङ्घीय सञ्चार आयोग (एफसीसी) मा औपचारिक आवेदन दिएको छ।
कम्पनीले अन्तरिक्षमै ‘अर्बिटल डेटा सेन्टर’ स्थापना गरी विश्वभरका प्रयोगकर्तालाई एआई कम्प्युटिङ क्षमता उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ। हाल जमिनमा रहेका डेटा सेन्टरहरूमा ठूला कम्प्युटर प्रणाली राखेर एआई सञ्चालन गरिँदै आएको छ, जसका लागि ठूलो मात्रामा ऊर्जा र पानी आवश्यक पर्छ।
स्पेस–एक्सको दाबीअनुसार एआईको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा जमिनमा आधारित डेटा सेन्टरहरूको क्षमता अपर्याप्त हुँदै गएको छ। अन्तरिक्षमा सौर्य ऊर्जाबाट सञ्चालन हुने डेटा सेन्टर तुलनात्मक रूपमा ऊर्जा–दक्ष, कम खर्चिलो र वातावरणमैत्री हुने कम्पनीको तर्क छ।
कम्पनीले यो योजनालाई मानव सभ्यताको प्राविधिक विकाससँग जोड्दै सूर्यको सम्पूर्ण ऊर्जा उपयोग गर्न सक्ने क्षमतातर्फको प्रारम्भिक कदमका रूपमा चित्रण गरेको छ।
यस विषयमा एलन मस्कले सामाजिक सञ्जालमार्फत अन्तरिक्ष अत्यन्त विशाल भएकाले यति धेरै भूउपग्रह प्रक्षेपण गर्दा पनि एक–अर्कामा ठोक्किने सम्भावना न्यून हुने बताएका छन्।
तर विज्ञहरूले भने यस योजनाले अन्तरिक्षमा भीडभाड बढ्ने र सुरक्षा चुनौती थपिने चिन्ता व्यक्त गरेका छन्। हाल स्पेस–एक्सको स्टारलिङ्क प्रणालीअन्तर्गत करिब १० हजार भूउपग्रह सञ्चालनमा छन्। थप ठूलो संख्यामा भूउपग्रह प्रक्षेपण हुँदा अन्तरिक्ष फोहोर बढ्ने र टक्करको जोखिम बढ्न सक्ने चेतावनी खगोलविद्हरूले दिएका छन्।
यसअघि पनि स्टारलिङ्कका भूउपग्रहहरूले टेलिस्कोपमार्फत गरिने खगोलीय अनुसन्धानमा अवरोध पुर्याएको गुनासो आएको थियो।
स्पेस–एक्सका अनुसार प्रस्तावित भूउपग्रहहरू पृथ्वीको सतहबाट करिब ५०० देखि २ हजार किलोमिटर उचाइको कक्षमा राखिनेछन्। तर यो योजना कहिलेसम्म पूर्ण रूपमा कार्यान्वयन हुनेछ भन्नेबारे कम्पनीले हालसम्म कुनै निश्चित समयसीमा सार्वजनिक गरेको छैन।