काठमाडौँ । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब सबै युरोपेली सङ्घ ९इयु० का सेनालाई आतङ्कवादी समूह मानेको बताएका छन् । इयुले इरानको अर्धसैनिक क्रान्तिकारी गार्डलाई आतङ्कवादी समूह घोषणा गरेपछि यो प्रतिक्रिया आएको हो ।
इयुको घोषणा देशव्यापी विरोध प्रदर्शनमाथि भएको रक्तपातपूर्ण दमनको सन्दर्भमा गरिएको थियो । पूर्व गार्ड कमान्डरसमेत रहेका संसद अध्यक्ष मोहम्मद बाघेर कालिबाफले यो पदनाम व्यवहारिकभन्दा बढी प्रतीकात्मक हुने सम्भावना रहेको बताए ।सन् २०१९ मा संयुक्त राज्य अमेरिकाले क्रान्तिकारी गार्डलाई आतङ्कवादी समूह घोषणा गरेपछि इरानले त्यही कानून प्रयोग गर्दै अन्य राष्ट्रका सेनालाई पनि आतङ्कवादी सूचीमा राख्ने व्यवस्था गरेको स्मरण गराइएको छ ।
यो घोषणा मध्यपूर्वमा बढ्दो तनावको पृष्ठभूमिमा आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीबारे विचार गरिरहनु भएको सन्दर्भमा क्षेत्रीय अवस्था थप संवेदनशील बनेको छ । इरानले पर्सियन खाडीको रणनीतिक होर्मुज जलडमरूमध्यमा आइतबार र सोमबार प्रत्यक्ष फायर सैन्य अभ्यास गर्ने योजना बनाएको छ ।
यही जलडमरूमध्यबाट विश्वको करिब पाँचौँ भाग तेल व्यापार आवागमन हुन्छ । संसद् बैठकमा कालिबाफ र अन्य सांसद क्रान्तिकारी गार्डप्रतिको समर्थन जनाउँदै गार्डको वर्दीमा उपस्थित थिए । ब्यालेस्टिक मिसाइल कार्यक्रमको नियन्त्रणसमेत गर्ने र देशभित्र विशाल आर्थिक प्रभाव राख्ने क्रान्तिकारी गार्डले इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीलाई मात्र जवाफ दिने गर्छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध सैन्य कारबाहीका लागि दुई वटा सर्त अघि सारेको बताइएको छ । ती सर्तमा शान्तिपूर्ण प्रदर्शनकारीको हत्या वा प्रदर्शनसँग सम्बन्धित व्यक्तिलाई सामूहिक मृत्युदण्ड दिने अवस्था सिर्जना हुनु समावेश छन् । यसका साथै उहाँले इरानको आणविक कार्यक्रमबारे पनि बढ्दो चासो व्यक्त गर्नु भएको छ । जुन कार्यक्रमका विषयमा इजरायलले इरानसँग १२ दिनको युद्ध सुरु गर्नुअघि अमेरिकाले तेहरानसँग विभिन्न चरणमा वार्ता गरेको थियो ।