काठमाडौं । २१ वर्षीय अमेरिकी युवा स्काइलर च्यानले स्थापना गरेको ‘जीआरयू स्पेस’ नामक स्टार्टअप कम्पनीले चन्द्रमामा विश्वकै पहिलो होटल सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। कम्पनीले सन् २०३२ सम्म होटल सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ।
यस योजनाअन्तर्गत कम्पनीले अन्तरिक्ष यात्रामा रुचि राख्ने व्यक्तिहरूका लागि होटलका कोठाको अग्रिम बुकिङ प्रक्रिया सुरु गरिसकेको जनाएको छ। कोठाको अन्तिम मूल्य भने अझै निर्धारण भइसकेको छैन। कम्पनीका संस्थापक च्यानका अनुसार एउटा कोठाको मूल्य एक करोड अमेरिकी डलरभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ।
हाल अग्रिम बुकिङका लागि पूर्ण रकम तिर्नुपर्ने व्यवस्था छैन। सुविधा अनुसार दुई लाख ५० हजारदेखि १० लाख अमेरिकी डलरसम्म धरौटी रकम लिइँदै आएको कम्पनीले जनाएको छ।
यसअघि पनि केही कम्पनीहरूले चन्द्रमामा होटल बनाउने योजना घोषणा गरेका थिए। तर जीआरयू स्पेसले पृथ्वीबाट निर्माण सामग्री लैजानुको सट्टा चन्द्रमाकै माटो प्रयोग गरेर संरचना बनाउने योजना अघि सारेको छ। कम्पनीले रोबोटिक प्रविधिबाट चन्द्रमाको माटोलाई ब्लकमा रूपान्तरण गरी त्यही सामग्रीबाट भवन निर्माण गर्ने लक्ष्य राखेको छ।
नियामक निकायबाट अनुमति प्राप्त भएमा सन् २०२९ देखि होटल निर्माण सुरु हुने कम्पनीको अनुमान छ। कम्पनीले तयार गर्ने संरचना चन्द्रमाको कठोर वातावरण सहन सक्ने गरी डिजाइन गरिने बताइएको छ।
संस्थापक स्काइलर च्यानले मानव सभ्यतालाई अन्तरग्रहीय बनाउने लक्ष्य राखिएको उल्लेख गरेका छन्। उनका अनुसार भविष्यमा चन्द्रमा र मंगल ग्रहमा ठूलो संख्यामा मानिस बसोबास गर्ने सम्भावना छ।
स्काइलर च्यान सानैदेखि अन्तरिक्षप्रति रुचि राख्ने युवा उद्यमी हुन्। उनले किशोरावस्थामै वायुसेना पाइलट तालिम सुरु गरेका थिए। बर्कले विश्वविद्यालयबाट स्नातक हुनु अघि नै उनले नासासँग सहकार्यमा थ्रीडी प्रिन्टिङ प्रविधि विकासमा योगदान दिएका थिए, जुन अन्तरिक्षमा सफलतापूर्वक प्रयोग गरिएको थियो।
गत वर्ष उनी अमेरिकाको सिलिकन भ्यालीस्थित ‘वाई कम्बिनेटर’ नामक स्टार्टअप सहयोग कार्यक्रममा छनोट भएका थिए। सो कार्यक्रममार्फत अन्तरिक्ष स्टार्टअप स्थापना गर्ने सबैभन्दा कान्छा व्यक्तिको रूपमा उनी चिनिएका छन्।