काठमाडौँ । फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो ‘रियालिटी ल्याब्स’ डिभिजनमा कार्यरत १ हजारभन्दा बढी कर्मचारी हटाएको छ। कम्पनीले सन् २०२६ को सुरुवातसँगै उक्त विभागबाट १० प्रतिशतभन्दा बढी जनशक्ति कटौती गर्ने निर्णय गरेपछि यो विषय व्यापक चर्चामा आएको हो।
रियालिटी ल्याब्स भर्चुअल रियालिटी, मेटाभर्स र एक्सटेन्डेड रियालिटी (XR) जस्ता प्रविधिमा काम गर्ने प्रमुख इकाइ हो। मेटाले मेटाभर्समा अर्बौँ डलर लगानी गरे पनि अपेक्षित व्यावसायिक सफलता हासिल गर्न नसकेपछि यो निर्णय लिएको विश्लेषकहरूको भनाइ छ।
कम्पनीले अब मेटाभर्सभन्दा एआई (कृत्रिम बुद्धिमत्ता) केन्द्रित रणनीतितर्फ अघि बढ्ने संकेत दिएको छ। यस कटौतीले भिआर हेडसेट, होराइजन वर्ल्डस्, इमर्सिभ गेमिङ स्टुडियो लगायतका टिमहरू प्रभावित भएका छन्।
मेटाका प्रवक्ताका अनुसार मेटाभर्समा अत्यधिक खर्च भए पनि प्रयोगकर्ता सहभागिता कमजोर रहेकाले कम्पनीले स्रोतसाधन एआई आधारित प्रडक्ट र वेयरेबल प्रविधिमा केन्द्रित गर्न लागेको हो।
कम्पनीले कर्मचारी कटौती गरेपछि धेरै पूर्वकर्मचारीहरू लिंक्डइनजस्ता प्लेटफर्ममा नयाँ रोजगारीको खोजीमा देखिएका छन्। यसलाई प्रविधि क्षेत्रमा देखिएको संरचनात्मक परिवर्तनको संकेतका रूपमा पनि हेरिएको छ।
विश्लेषकहरूका अनुसार मेटाले अब स्मार्ट एआई चस्मा, वेयरेबल डिभाइस र व्यवहारिक एआई प्रविधिमा लगानी बढाउँदैछ। हालै सार्वजनिक गरिएका रेबन स्मार्ट ग्लासेस र डिस्प्ले सहितका एआई चस्माहरू बजारमा उल्लेखनीय रूपमा लोकप्रिय भएका छन्।
प्रविधि क्षेत्रमा तत्काल प्रतिफल नदिने परियोजनाबाट कम्पनीहरू क्रमशः पछि हट्दै व्यवहारिक र छिटो आम्दानी दिने प्रविधितर्फ केन्द्रित हुन थालेको सन्देश यस घटनाले दिएको विश्लेषकहरूको भनाइ छ।