काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जाल र फेसबुकका स्पोन्सर एड्स मार्फत “घरमै बसेर सजिलै पैसा कमाउन सकिने” भन्दै अनलाइन रोजगारीको नाममा ठगीका घटनाहरू बढ्दै गएका छन्।
विभिन्न ई–कमर्स तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको नाम दुरुपयोग गर्दै सर्वसाधारणलाई बारम्बार रकम लगानी गर्न लगाई ठगी गर्ने प्रवृत्ति बढेको भन्दै सजक बन्न नेपाल प्रहरीको साइबर ब्युरोले अनुरोध गरेको छ ।
साइबर ब्युरोका अनुसार यस्ता विज्ञापन तथा सन्देशहरूमा कम्पनीको वास्तविक पृष्ठभूमि नखुलाई केवल सामाजिक सञ्जालमै कुराकानी गरिने, कार्यालय ठेगाना नदिइने र अन्तर्वार्ता बिना नै काम दिने आश्वासन दिइने गरेको पाइएकोले विशेष ध्यान दिन अनुरोध गरेको छ। अनलाइनमा देखिने सबै सूचनाहरू सत्य नहुने भन्दै साइबर ब्युरोले कुनै पनि अनलाइन कमाइसम्बन्धी प्रस्ताव स्वीकार गर्नु अघि राम्रोसँग अध्ययन र पुष्टि गर्न आग्रह गरेको छ।
