काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई सम्झौता गर्न वा नराम्रो परिणाम भोग्न तयार रहने आग्रह गरेका छन् । उनले भेनेजुएलाबाट हुने तेल र पैसाको प्रवाह रोकिने चेतावनी पनि दिएका छन् ।
गत ३ जनवरीमा भेनेजुएलाको राजधानी काराकसमा अमेरिकी सेनाले छापा मारी निकोलस मादुरोलाई पक्राउ गरेपछि अमेरिकी राष्ट्रपतिले आफ्नो ध्यान क्युबातर्फ केन्द्रित गरेका हुन् ।
क्युबाको लामो समयदेखिको सहयोगी भेनेजुएलाले टापु राष्ट्र क्युबालाई दैनिक करिब ३५ हजार ब्यारेल तेल पठाउने गरेको थियो । ट्रम्पको धम्कीप्रति प्रतिक्रिया दिँदै क्युबाका विदेशमन्त्रीले आफ्नो देशसँग बिना कुनै हस्तक्षेप इन्धन आयात गर्ने अधिकार कसैसँग नरहेको बताएका छन् ।
उनले भने, “हामीले के गर्ने भन्ने कुरा ट्रम्पले निर्धारण गर्न सक्दैनन् ।” प्रतिबन्धित भेनेजुएली तेल ट्यांकरहरू जफत गर्ने ट्रम्प प्रशासनको रणनीतिले क्युबामा इन्धन र बिजुलीको संकट सुरु भइसकेको छ।
आइतबार ट्रम्पले ‘ट्रुथ सोसल’ मा लेख्दै भने, “क्युबा धेरै वर्षदेखि भेनेजुएलाको ठूलो परिमाणको तेल र पैसामा बाँचेको थियो । यसको बदलामा क्युबाले पछिल्ला दुई भेनेजुएली तानाशाहहरूलाई ‘सुरक्षा सेवा’ प्रदान गर्यो, तर अब त्यस्तो हुनेछैन ।”
ट्रम्पले अब क्युबामा कुनै तेल वा पैसा नजाने प्रष्ट पारेका छन् । “अब क्युबामा कुनै तेल वा पैसा जाने छैन । यो हुने छ केवल शून्य ! म उनीहरूलाई दृढताका साथ के सुझाव दिन्छु भने धेरै ढिलो हुनुअघि नै उनीहरूले सम्झौता गरुन् ।”
ट्रम्पले सम्झौताका सर्तहरू वा क्युबाले भोग्नुपर्ने परिणामबारे विस्तृत जानकारी भने दिएका छैनन् ।