काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २०औँ साधारणसभा तथा निर्वाचन नजिकिँदै गर्दा उपाध्यक्ष पदमा रत्नबहादुर भट्टराई बलियो दावेदारका रूपमा प्रस्तुत भएका छन्। अध्यक्षका प्रत्यासी दीपकराज भुसालको प्यानलबाट मैदानमा रहेका भट्टराईलाई अनुभवी, संस्थागत स्मृतिसहितको र व्यवहारिक नेतृत्वका रूपमा हेरिएको छ।
अनुभवी नेतृत्व, निरन्तर योगदान
शैक्षिक परामर्श क्षेत्रमा लामो अनुभव सँगालेका भट्टराई हाल इक्यानको केन्द्रीय कार्यसमितिमा सचिवको जिम्मेवारी सम्हालिरहेका छन्। संस्थाभित्र सुशासन, अनुशासन र व्यावसायिक मापदण्ड स्थापित गर्न उनले खेलेको भूमिका सदस्यहरूमाझ विश्वसनीय मानिन्छ।
अनुशासन र संस्थागत सुधारमा अग्रसर
भट्टराई यसअघि दुई कार्यकाल कार्यसमिति सदस्य रहँदा दुवै पटक अनुशासन विभागको संयोजकको जिम्मेवारीमा थिए। संस्थाभित्र आन्तरिक व्यवस्थापन मजबुत बनाउने र सरकारसँग समन्वय सुदृढ गर्ने उद्देश्यले आन्तरिक मामिला विभाग गठन गर्ने पहल पनि उनकै नेतृत्वमा भएको थियो। सो विभागको संयोजकका रूपमा उनले नीतिगत पैरवीलाई संस्थागत रूप दिएका थिए।
उपाध्यक्षका लागि स्वाभाविक दावेदारी
दुई कार्यकाल कार्यसमिति सदस्य र एक कार्यकाल सचिवको अनुभवपछि भट्टराईलाई उपाध्यक्ष पदका लागि स्वाभाविक र सक्षम उम्मेदवारका रूपमा हेरिएको छ। देशभरका इक्यान सदस्यहरूको भरोसा र समर्थन आफूले पाउनेमा उनी आत्मविश्वासी देखिन्छन्।
स्पष्ट एजेन्डा र प्रतिबद्धता
नोबल एजुकेशन प्रालिका सञ्चालकसमेत रहेका भट्टराईले इक्यानलाई अझ सशक्त, सदस्य–केन्द्रित र व्यावसायिक संस्था बनाउने स्पष्ट दृष्टिकोण अघि सारेका छन्। संस्थाको गरिमा अभिवृद्धि, सदस्यहरूको हकहित संरक्षण तथा सरकारसँग प्रभावकारी समन्वय स्थापित गर्ने एजेन्डाले उनलाई उपाध्यक्ष पदको बलियो दावेदार बनाएको छ।