काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ का अध्यक्ष चन्द्रप्रसाद ढकाल र संयुक्त अरब इमिरेट्स (यूएई) अर्थ मन्त्रालय का अन्डर–सेक्रेटरी अब्दुल्ला अहमद अल सालेह बीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। भेटवार्तामा दुवै पक्षले नेपाल–यूएई आर्थिक सम्बन्ध थप सुदृढ पार्ने र व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका छन्।
यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री पनि उपस्थित थिए। ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, ठूला पूर्वाधार र सूचना प्रविधि (आईटी) क्षेत्रमा लगानीका अवसरबारे जानकारी दिँदै, निजी क्षेत्रबीचको सहकार्य बलियो बनाउनुपर्नेमा जोड दिए। उनले एमिरेट्स एयरलाइन्सको काठमाडौँ प्रत्यक्ष उडानले पर्यटन, व्यापार र व्यवसायिक आवागमन बढाउन सहयोग पुग्ने पनि बताए। यूएईका अन्डर सेक्रेटरी अल सालेहले नेपालले प्रस्तुत गरेका परियोजना र लगानी अवसरप्रति यूएईको चासो प्रकट गर्दै दुवै देशबीच सहकार्य बढाउने सकारात्मक दृष्टिकोण व्यक्त गरे। दुवै पक्षले आगामी दिनमा सहकार्यलाई अझ गहिरो बनाउँदै ठोस परिणामतर्फ अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।