काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को आगामी पुस २८ गते हुने २०औँ साधारण सभा तथा केन्द्रीय निर्वाचन नजिकिँदै जाँदा केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिने क्रम जारी छ। यसैक्रममा पुष्प राज भट्टराई (डक्टर) ले केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
भट्टराईले संस्थागत दायित्व वहन गर्ने उद्देश्यका साथ उम्मेदवारी प्रस्तुत गरेको जनाएका छन्। उनका अनुसार केन्द्रीय उपाध्यक्ष पद संघभित्र समन्वय कायम गर्ने, कार्यसमितिको कामलाई सहज बनाउने र सदस्यहरूको विषयवस्तु केन्द्रसम्म पुर्याउने जिम्मेवारीसँग जोडिएको पद हो।
ईक्यानले आगामी कार्यकालमा परामर्श व्यवसायसँग सम्बन्धित नीतिगत विषय, सदस्यहरूको व्यवसायिक सरोकार तथा संगठनात्मक व्यवस्थापनमा ध्यान दिनुपर्ने अवस्था रहेको सन्दर्भमा उपाध्यक्ष पदको भूमिका महत्वपूर्ण मानिन्छ। भट्टराईले यस्तो जिम्मेवारी निर्वाह गर्न आफू तयार रहेको उल्लेख गरेका छन्।
आगामी निर्वाचनलाई ईक्यानको नयाँ नेतृत्व चयन गर्ने प्रक्रियाका रूपमा हेरिएको छ। साधारण सभामा वार्षिक तथा आर्थिक प्रतिवेदन पारित गर्नुका साथै नयाँ कार्यसमिति चयन गरिने कार्यसूची रहेको छ।
केन्द्रीय उपाध्यक्ष पदका उम्मेदवार भट्टराईले निर्वाचनमा मतदाता सदस्यहरूबाट प्राप्त हुने विश्वास, सहयोग र मतले जिम्मेवारी निर्वाहमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।