काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) की वर्तमान केन्द्रीय कार्यसमिति सदस्य साधना पुडासैनीले सदस्यको सुरक्षा, भरोसा र व्यावसायिक स्थायित्वलाई नेतृत्वको मुख्य आधार बनाउने स्पष्ट सन्देश सार्वजनिक गरेकी छन्।
सामाजिक सञ्जालमार्फत राखिएको सन्देशमा पुडासैनीले ईक्यान सदस्यहरूले आर्थिक, कानुनी र नीतिगत चुनौतीको दबाब बिना आफ्नो व्यवसायमा केन्द्रित हुन पाउने वातावरण निर्माण गर्नु नेतृत्वको प्राथमिकता हुनुपर्ने उल्लेख गरेकी छन्। उनले कोष व्यवस्थापनलाई केवल आम्दानी–खर्चको हिसाबमा सीमित नराखी सदस्यको सुरक्षा कवच र संस्थाको दीर्घकालीन स्थायित्वसँग जोडेर हेर्ने दृष्टिकोण प्रस्तुत गरेकी छन्।
एक महिलाको रूपमा कोष र संस्थागत जिम्मेवारीलाई अझ संवेदनशील र उत्तरदायी रूपमा लिनुपर्ने धारणा व्यक्त गर्दै पुडासैनीले प्रत्येक निर्णय पारदर्शी, न्यायोचित र सदस्यहितमा आधारित हुने स्पष्ट पारेकी छन्। उनका अनुसार सदस्यको भरोसा नै नेतृत्वको सबैभन्दा ठूलो पूँजी हो।
ईक्यानको आगामी निर्वाचन सन्दर्भमा आएको यो सन्देशलाई सदस्य-केन्द्रित, भरोसायोग्य र उत्तरदायी नेतृत्वको संकेतका रूपमा हेरिएको छ।