काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को यही पुस २८ गते हुने निर्वाचनका लागि केन्द्रीय महासचिव पदमा भवनाथ हुमागाईंले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्। हाल ईक्यानको केन्द्रीय समितिमा प्रथम सचिवको जिम्मेवारी सम्हाल्दै आएका हुमागाईंले आगामी कार्यकालका लागि महासचिव पदमा दावेदारी प्रस्तुत गरेका हुन्।
संगठनभित्रको लामो अनुभव र संस्थागत योगदान
शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र सशक्त बनाउने अभियानमा लामो समयदेखि सक्रिय हुमागाईं ईक्यानमा एक कार्यकाल कार्यसमिति सदस्य, हाल प्रथम सचिव तथा संगठन विभाग र आन्तरिक मामिला विभागको संयोजकका रूपमा कार्यरत छन्। उनले संघको आन्तरिक संरचना मजबुत बनाउने, संगठनात्मक समन्वय सुदृढ गर्ने र सदस्य हितका विषयमा निरन्तर योगदान पुर्याउँदै आएको दाबी गरेका छन्।
केन्द्र–शाखा समन्वय र नवीकरण प्रक्रियामा अग्रणी भूमिका
हुमागाईंले ईक्यान केन्द्र र जिल्ला शाखाबीचको समन्वय प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्। नियमित संवाद, नीतिगत स्पष्टता र साझा कार्ययोजना निर्माणमार्फत संगठनभित्र एकरूपता र विश्वासको वातावरण निर्माणमा योगदान पुगेको उनको भनाइ छ।
त्यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा लामो समयदेखि अवरुद्ध रहेको शैक्षिक परामर्श व्यवसाय नवीकरण प्रक्रियालाई पुनः सुचारु गर्न उनले निर्णायक पहल गरेको जनाएका छन्। मन्त्रालयसँगको निरन्तर संवाद र संस्थागत प्रयासमार्फत सदस्यहरूको व्यवसायिक सुरक्षाका लागि ठोस आधार तयार भएको उनको दाबी छ।
संगठन विस्तार र सदस्यता सुदृढीकरण
ईक्यानको भौगोलिक पहुँच विस्तार गर्ने उद्देश्यसहित दुई नयाँ शाखा र एक समन्वय केन्द्र स्थापना गर्न योगदान पुर्याएको उल्लेख गर्दै हुमागाईंले संगठनलाई थप समावेशी र प्रतिनिधिमूलक बनाउने प्रयास जारी रहेको बताएका छन्। साथै, सदस्यता विस्तार र आजीवन सदस्यता प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै संस्थाको दीर्घकालीन स्थायित्वमा योगदान दिएको उनको भनाइ छ।
महासचिवका रूपमा भावी प्रतिबद्धता
महासचिव पदको भूमिका केवल औपचारिक जिम्मेवारी नभई सदस्यहरूको सुरक्षा, शाखाहरूको सशक्तीकरण र संस्थाको गरिमासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै हुमागाईंले स्पष्ट कार्यदिशा प्रस्तुत गरेका छन्। केन्द्र-शाखा समन्वयलाई संस्थागत र परिणाममुखी बनाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नीतिगत पैरवी सशक्त बनाउने र सरकार तथा सरोकारवाला निकायसँग ईक्यानको संस्थागत हैसियत मजबुत बनाउने उनको प्रमुख प्रतिबद्धता रहेको छ।
त्यसैगरी, पारदर्शी र उत्तरदायी कार्यशैलीमार्फत आर्थिक रूपमा सबल संस्था निर्माण गर्ने, युवा तथा नयाँ शैक्षिक परामर्श उद्यमीलाई समेट्ने दीर्घकालीन रणनीति कार्यान्वयन गर्ने र बहु–गन्तव्य विद्यार्थी आवागमनको क्षेत्रमा रणनीतिक रूपमा काम गर्ने योजना पनि उनले अघि सारेका छन्।
विश्वास र निरन्तरतामा आधारित नेतृत्वको दाबी
अनुभव, निरन्तरता र स्पष्ट दृष्टिकोणका साथ ईक्यानलाई अझ बलियो, एकताबद्ध र सम्मानित संस्थाका रूपमा अगाडि बढाउने दृढ संकल्पका साथ हुमागाईंले महासचिव पदमा उम्मेदवारी दिएको बताएका छन्। उनले सम्पूर्ण ईक्यान सदस्यसँग विश्वास, साथ, सहयोग र अमूल्य मतको अपेक्षा गरेका छन्।