काठमाडौँ । विराटनगरका दुई क्यासिनोमा प्रहरीले छापा मारेर व्यवस्थापकसहित २० जना नेपाली नागरिकलाई पक्राउ गरेको छ। आइतबार मध्यराति बिग होटलमा सञ्चालित च्याम्पियन जोन क्यासिनो र रत्ना होटलभित्रको गोल्डेन क्यासिनोमा छापा मारिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गोल्डेन क्यासिनोबाट १४ जना र च्याम्पियन जोन क्यासिनोबाट ६ जना नेपाली नियन्त्रणमा लिइएका छन्। पक्राउ पर्नेमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतम पनि छन्।
क्यासिनोमा नेपाली नागरिक प्रवेश निषेध भए पनि यी क्यासिनोमा नेपालीको सहज आवतजावत हुँदै आएको र पटक–पटक विवाद तथा झडपका घटना सार्वजनिक हुँदै आएका थिए। प्रहरीले पक्राउ परेकामाथि जुवा ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ।