काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल मा च्याम्पियन बन्ने होड चार टोलीबीच सीमित भएको छ। लिग चरण पूरा हुँदा १२ अंकसहित सुदूरपश्चिम रोयल्स शीर्ष स्थानमा रहँदै विराटनगर किङ्ग्ससँग पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ। १०–१० अंक बटुलेका विराटनगर र काठमाडौँ गोर्खाजमध्ये काठमाडौँ भने रनरेटमा पछि पर्दै इलिमिनेटरमा लुम्बिनी लायन्ससँग भिड्नेछ। गत संस्करणको विजेता जनकपुर बोल्ट्स यसपटक प्लेअफसम्म पुग्न सकेन।
सुदूरपश्चिम रोयल्स : कप्तान दिपेन्द्रसिंह ऐरीको टोलीले सात खेलमध्ये छ जितेर बलियो दाबेदारी पेश गरेको छ। हरेक खेलमा फरक ‘म्याच विनर’ देखिएको सुदूरपश्चिम अन्तिम खेलमा विराटनगरसँग पराजित भए पनि शीर्ष स्थान सुरक्षित गर्न सफल भयो।
विराटनगर किङ्ग्सः सन्दीप लामिछानेको कप्तानीमा विराटनगरले पाँच खेल जितेर पहिलो क्वालिफायरमा प्रवेश गरेको हो। लिगमा स्थिर प्रदर्शनका कारण उपाधि दाबी मजबूत मानिन्छ।
काठमाडौँ गोर्खाजः करण केसीको नेतृत्वमा पाँच जित निकाल्दै काठमाडौँले प्लेअफ स्थान सुरक्षित गर्यो। सुरुमा उतारचढाव देखिएको टिमले अन्तिम चार खेलमा लगातार जितेको थियो।
लुम्बिनी लायन्सः रोहितकुमार पौडेलको टोलीले चार जितका आधारमा प्लेअफ स्थान बनायो। तीन खेलको हारपछि लुम्बिनीले प्रभावकारी पुनरागमन गर्दै लगातार जित निकाल्यो।