काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा बनेको नयाँ सत्तासमीकरण अन्य प्रदेशमा पनि देखिने दावी गरेका छन् ।
शनिबार जनकपुरमा आयोजित नेपाली कम्युनिष्ट पार्टी मधेश प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मधेश प्रदेश सरकार गठनका क्रममा कथाकथित समीकरण तोडिएर नयाँ समीकरण बनेको भन्दै मधेशबाट सुरु भएको नयाँ समीकरण अब सबै प्रदेशमा पनि अघि बढ्ने दावी गरे ।
उनले मुलुकमा गणतन्त्र स्थापित भएपछि पनि जनताको जीवनस्तरमा परिवर्तन नआएकाले जेन-जी आन्दोलन भएको र त्यसले सबैलाई आत्मसमीक्षा गर्दै सुध्रने अवसर दिएको बताए ।
जेन-जी आन्दोलनपछि समिक्षा गर्दै नयाँ ढंगले रूपान्तरणका साथ मुलुकको विकासमा लाग्न वृहत एकता गरिएको उनको भनाइ छ । प्रचण्डले सबै जनताको एकताले मात्रै प्रतिगमन र प्रतिक्रियावादीलाई परास्त गर्दै मुलुकलाई अघि बढाउनु सकिने भन्दै त्यसको नेतृत्व नेकपाले गर्ने धारणा राखे ।
एमालेभित्र रहेका बामपन्थी र क्रान्तिकारीका साथै अन्य कम्युनिष्ट पार्टीहरूलाई पनि नेकपामा एकताबद्ध गर्दै लैजाने उनले बताए । त्यस्तै उनले मधेश प्रदेशका महत्वपूर्ण विकास आयोजनाहरू कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले सुरु गरेकाले त्यसलाई निष्कर्षमा पुराउने काम पनि कम्युनिष्ट सरकारले नै गर्ने जिकिर गरे ।