काठमाडौँ। कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.मदनप्रसाद परियारले सरकारले माटो व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताएका छन्। १२औं विश्व माटो दिवसको अवसरमा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री परियारले केन्द्रीय कृषि प्रयोगशालाले किसानहरूलाई माटो तथा मल परीक्षण सेवाहरू प्रदान गरिरहेको बताए।
उनले देशभर माटो परीक्षण गरी डिजिटल माटो नक्सा अद्यावधिक गर्ने काम पनि भइरहेको जानकारी दिए। साथै सरकारले माटो परीक्षण, सन्तुलित मल प्रयोगका लागि किसान र प्राविधिक क्षमताको अभिवृद्धि गर्दै आएको उनले बताए। मन्त्री परियारले रासायनिक र प्राङ्गारिक मल व्यवस्थापनका लागि ठोस योजना सहित काम भइरहेको पनि जानकारी गराए।