काठमाडौँ । निर्वाचन सुरक्षाका लागि भर्ना गरिने जनशक्तिलाई अब ‘निर्वाचन प्रहरी’ नामकरण गरिने भएको छ । नेपाल प्रहरीमातहत भर्ना गरिने यस्तो जनशक्तिलाई विगतमा ‘म्यादी प्रहरी’ भनिने गरिएको थियो । गृह मन्त्रालयले आगामी प्रतिनिधिसभा निर्वाचनको सुरक्षार्थ भर्ना गर्न लागिएको जनशक्तिलाई निर्वाचन प्रहरीको पहिचान दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
‘म्यादी प्रहरीको साटो निर्वाचन प्रहरी नामकरण गरेर ४० दिनको कार्यअवधिसहित भर्ना गर्ने गरी प्रक्रिया अघि बढाइएको छ,’ उनले भने, ‘नामकरण नै सबैथोक त होइन, तर म्यादीको साटो निर्वाचन प्रहरी राख्दा एक किसिमको अपनत्व हुन्छ, जुन कामका लागि खटिएको हो, त्यसको पहिचान पनि झल्कन्छ ।’
गृह मन्त्रालयका अनुसार ‘निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०८२’ को मस्यौदा प्रहरी प्रधान कार्यालयबाट बन्ने क्रममा छ । प्रहरीमातहत रहने गरी निर्वाचन प्रहरीलाई छनोटदेखि मत परिणाम नआउन्जेलसम्म कार्यअवधि गणना गरेर खटाइनेछ । यसरी खटिने सुरक्षाकर्मीलाई प्रहरी जवानले पाउने आधारभूत तलबमानअनुसार पारिश्रमिक दिइनेछ भने जवानले तत्तत् जिल्लामा पाउने स्केलअनुसार रासन भत्ता दिइनेछ । विगतमा अपनाइएका अभ्यासअनुसार पोसाक भत्ता, यात्रा गर्दा सवारी भत्ता पनि उनीहरूलाई दिइनेछ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा खटिएका म्यादीलाई ४० दिनको कार्यअवधि तोकेर प्रतिदिन ८ सय ६९ रुपैयाँका दरले ३४ हजार ७ सय ६० रुपैयाँ पारिश्रमिक दिइएको थियो । रासनबापत ७ हजार २ सय र हिमाली जिल्लाको हकमा जिल्लाको न्यूनतम रासन दरअनुसार रकम दिइएको थियो । तोकिएका पोसाक ६ हजार र ज्याकेट किन्न थप १ हजार, यातायात खर्चबापत १ हजार र तीन दिनका लागि दैनिक ३ सयका दरले खाजा खर्च उपलब्ध गराइएको थियो । आसन्न निर्वाचनमा करिब १ लाख ३० हजार निर्वाचन प्रहरी भर्ना गर्ने सरकारको तयारी छ ।