काठमाडौँ । हङकङमा गएको मंगलवार भएको भीषण आगलागी पछिल्लो ६३ वर्षयताकै सबैभन्दा घातक आगोका रूपमा पुष्टि भएको छ। ताइ पो जिल्लास्थित वाङ फुक कोर्टका आवासीय भवनहरूमा लागेको आगलागीमा अहिलेसम्म कम्तीमा ४४ जनाको मृत्यु भएको छ भने २७९ भन्दा बढी मानिस अझै बेपत्ता रहेका अधिकारीहरूले बताएका छन्। यो मृत्यु संख्या सन् १९६२ मा श्याम सुई पो क्षेत्रमा लागेको आगोको बराबरीमा पुगेको हो, जसमा ४४ जनाको मृत्यु भएको थियो। त्यतिबेला २२.७ किलो पटाका भण्डारणकै कारण आगो झनै फैलिएको रिपोर्ट गरिएको थियो। हङकङमा यसअघि १९९६ मा गरली बिल्डिङमा लागेको आगलागीले ४१ जनाको ज्यान लिएको थियो।
आगलागीका धेरै भवनहरूमा मर्मत–सम्भारका काम भइरहेका थिए। विशेषज्ञहरूका अनुसार भवनबाहिर प्रयोग गरिएको जाली तथा सुरक्षा नेट अत्यन्त कमजोर र अग्निरोधक नभएकाले आगो तीव्र रूपमा फैलिएको हुनसक्छ । निर्माणसम्बन्धी एनजीओ चिनाट मोनिटरका अध्यक्ष जेसन पुनका अनुसार मापदण्ड अनुसारको नेटिङ भए आगो नियन्त्रणमा राख्न सकिन्थ्यो। इन्जिनियरहरूले स्काफोल्डिङमा कागज, डिब्बा, थिनर जस्ता सजिलै बल्ने सामग्री भेटिनु र सुख्खा मौसम पनि आगलागी फैलिनका कारण भएको बताएका छन्। आगलागीपछि निरीक्षण गर्दा भवनका झ्यालहरूमा “अत्यन्त दाहिने” स्टाइरोफोम बोर्डहरू भेटिएको अधिकारीहरूले जनाएका छन्। ताइ पोबाट रिपोर्टिङ गरिरहेका पत्रकारका अनुसार चारवटा भवनमा आगो नियन्त्रणमा आए पनि अन्य भवनबाट बाक्लो धुवाँ निस्किरहेकाले वातावरण प्रदूषित बनेको छ। बिहानैदेखि अतिरिक्त दमकल तथा एम्बुलेन्स परिचालन गरिएको छ।

वाङ फुक कोर्टमा बस्ने किको मा नामकी युवतीका अनुसार भवनका झ्यालहरू लामो समयदेखि मर्मतका कारण बन्द गरिएका थिए। कामदारले छोडेको हुनसक्ने चुरोटका टुक्रा झ्यालनजिकै भेटिने गरेको उनले बताइन्। हामीले पटक–पटक भनेका थियौँ, ‘यदि आगो लाग्यो भने के हुन्छ? तर कसैले गम्भीरतापूर्वक लिएन उनले भनिन्। केही फायर अलार्मसमेत मर्मतका क्रममा बन्द गरिएको बताइएको छ। आगोपछि सामुदायिक च्याट समूहमा बेपत्ता परिवारबारे सुचनाहरु निरन्तर आइरहेका छन्। हङकङका प्रमुख कार्यकारी जोन लीले घटना गम्भीर भएकाले आगामी ७ डिसेम्बरमा हुने विधायी परिषद् निर्वाचनको प्रचार–प्रसार अस्थायी रूपमा स्थगित गरिएको घोषणा गरेका छन्। प्राथमिकता आगो निभाउने, घाइतेको उपचार गर्ने र राहत तथा अनुसन्धानमा केन्द्रित गर्ने हो उनले संवाददातालाई बताए। केही ९०० भन्दा बढी बासिन्दालाई अस्थायी आश्रयस्थलमा सारिएको छ। बिहानको समयमा तीव्र उद्धार कार्य चलिरहेको छ भने भवनको क्षति अवलोकन गर्न केही बासिन्दा पुनः घटनास्थल फर्किएका छन्।

८२ वर्षीय एक वृद्धा वूले आगलागीदेखि घर नछोडेको बताइन् म आगो नियालेर बसेँ। आगो कमेपछि मात्र मन शान्त हुन्छ भनेर छोरालाई भनेकी थिएँ,” उनले भनिन्। दमकल विभागका उप–महानिर्देशक डेरेक आर्मस्ट्रङ च्यानका अनुसार रातिको अँध्यारो, भवनभित्रको अत्यधिक तापक्रम र कमजोर संरचनाका कारण बुझाउने कार्य चुनौतीपूर्ण बनेको छ। आठ भवनमध्ये चारमा आगो नियन्त्रणमा आए पनि बाँकी क्षेत्रमा आगो निभाउन पूरै दिन लाग्ने अनुमान छ। आगलागीमा लापरबाही गरिएको आशंकामा निर्माण कम्पनीका दुई निर्देशक र एक इन्जिनियरिङ सल्लाहकारलाई पक्राउ गरिएको हङकङ प्रहरीले जनाएको छ। झ्यालहरूमा पोलिस्टाइरिन बोर्ड र बाहिरी भागमा मानक विपरीत जाली भेटिएको प्रहरीले बताएका छन्। अन्तिम विवरण यस्तो रहेको छ मृतक ४४,गम्भीर अवस्थामा ४५,बेपत्ता २७९, आठ भवनमध्ये ४ भवनमा आगो नियन्त्रण गरिएको छ । आगोको स्तर–५ को वर्गीकरण–हङकङमा १७ वर्षपछि यस्तो उच्च स्तरको आगो लागेको हो । हङकङका नागरिक, विदेशी दूतावास र अन्तर्राष्ट्रिय समुदायले शोक, प्रार्थना र ऐक्यबद्धता व्यक्त गरिरहेका छन्।