काठमाडौँ । महानगरीय प्रहरी कार्यालय काठमाण्डौंबाट जेनजी प्रदर्शनका क्रममा लुटिएको दुई थान पेस्तोलसहित तीन जनालाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको छ। पक्राउ परेकामा दमक–६ का २९ वर्षीय विश्व लिङ्देन, दमक–९ का २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली–४ का ३० वर्षीय पवन हाङसुङ्वा रहेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले दमक–८ मा डेरा गरेका सरोज पुरीलाई नियन्त्रणमा लिँदा उनको साथबाट ठूलो चापे टाइप–५४ चाइनिज पेस्तोल एक थान र १५ राउण्ड गोली बरामद भएको थियो। सोधपुछमा पुरीले अर्को हतियार विश्व लिङ्देनकहाँ राखेको बताइएपछि प्रहरीले लिङ्देनलाई घरमै पक्राउ गरेको छ। लिङ्देनले उक्त पेस्तोल पवन हाङसुङ्वालाई रु २० हजारमा बिक्री गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ। पछि प्रहरीले हाङसुङ्वाको बारीमा खाल्डो खनेर लुकाइएका अवस्थामा ठूलो चापे टाइप–५४ चाइनिज पेस्तोल एक थान तथा पाँच राउण्ड गोली फेला पारेको छ। बरामद दुबै पेस्तोल २० राउण्ड गोलीसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।