काठमाडौँ । टर्कीको विशाल महानगर इस्तानबुल केवल ऐतिहासिक सांस्कृतिक धरोहरका लागि मात्र चिनिने शहर होइन, यहाँ सडक–सडकमा करिब २.५ लाख बिरालोको सहअस्तित्व पनि त्यत्तिकै प्रसिद्ध छ। मान्छे र बिरालोबीचको यो अनौठो सम्बन्धका कारण विश्वभर इस्तानबुललाई क्याटस्टानबुल पनि भनिन्छ।
फोटोग्राफर तथा लेखक मार्सेल हाइनेनका अनुसार, इस्तानबुलका बिरालोहरु पूर्णरुपमा पालिदैन तर त्यहाँका समुदायले साझारुपमा स्याहार सुरार गर्दछन् । स्थानीय नगरपालिकाहरूले सडक जनावरको उपचार तथा निःशुल्क बन्ध्याकरण सेवा उपलब्ध गराउने, पशु क्लिनिकले छुटका सेवा दिने तथा बासिन्दाले आफ्नै खर्चमा बिरालोको हेरचाह गर्ने परम्परा यहाँ पुरानै हो।
ओटोमन कालदेखि सुरु भएको बिरालोप्रेमः इतिहासविद्हरूका अनुसार इस्तानबुलमा बिरालोप्रतिको आकर्षण ओटोमन शासनकालदेखि गहिरो छ। त्यतिबेलै मन्चाची नामको काम सिर्जना भएको थियो, जसको दायित्व शहरका बिरालो खुवाउने थियो। समुद्री व्यापारीहरूले जहाजमा मुसा नियन्त्रण गर्न बिरालो राख्ने चलन अझ पुरानो मानिन्छ, जसले गर्दा विभिन्न व्यापारिक जहाजसँगै असंख्य बिरालो इस्तानबुलमा आएर बसोबास गर्न थाले। 
शान्तिको प्रतीक : इस्तानबुलका सडक बिरालोहरूलाई शहरका सबैभन्दा शान्त ‘नागरिक’ मानिन्छ। मस्जिद, बजार, समुद्रकिनार, क्याफे वा ऐतिहासिक स्थल लगायत जताततै मानिसहरूले विराम लिन खोज्दा यी बिरालोहरूको उपस्थितिले एक किसिमको सहजता र आत्मीयता थपिदिन्छ। सुल्तानाहमेत स्क्वायरमा फोटो पोज दिने सुलोजस्ता बिरालोदेखि बोस्फोरस किनारका आरामले बसेका बिरालोसम्म—शहरका दृश्यहरू उनीहरूबिनै अधूरा लाग्छन्। क्याफे र पसलहरूले खानेकुरा, पानी र स्याहार उपलब्ध गराउँदै उनीहरूलाई समुदायको एक अंगकै रूपमा स्वीकारेका छन्। 
पर्यटन–मैत्री अनौपचारिक दूत : अतीतमा अन्न जोगाउन आवश्यक मानिएका बिरालोहरू अहिले पर्यटनका अनौपचारिक दूत बनिसकेका छन्। शहर घुम्न आउने धेरै पर्यटकका फोटो, भिडियो र सम्झनामा यी सडक बिरालो अनिवार्य रूपमा बस्छन्। इस्तानबुलले देखाएको छ—मानिस र जनावरबीचको सहअस्तित्व सम्भव मात्र होइन, सुन्दर पनि हुन सक्छ । क्याटस्टानबुलको कथा मान्छे र सडक बिरालोबीच यस्तो छ आत्मीय सहजीवन