काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले बिहीबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने दोलखाका २४ वर्षीय आङ मिङमार शेर्पा, गोकर्णेश्वर नगरपालिका–५ बस्ने काभ्रेकी ४२ वर्षीया सुनिता सिङतान (लामा) र काठमाडौं महानगरपालिका–४ बस्ने सिन्धुलीकी ३३ वर्षीया बाल कुमारी माझी रहेका छन्।
पक्राउ परेका व्यक्तिहरूले विभिन्न देश पठाइदिने भन्दै पीडितहरूबाट रकम असुल गरी सम्पर्कविहीन भएको आरोप छ। प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार आङ मिङमार शेर्पाmे लक्जम्बर्ग पठाइदिन्छु भन्दै १ जना पीडितबाट १९ लाख रूपैयाँ ठगी गरेको बताइएको छ । त्यस्तै, सुनिता सिङतान (लामा)ले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख ७६ हजार रूपैयाँ लगेर सम्पर्कविहिन भएको प्रहरीको उजुरीमा उल्लेख गरेको नेपाल प्रहरी समचार कक्षले जनाएको छ । त्यस्तै, अर्की एक महिला बाल कुमारी माझीेले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १० लाख रूपैयाँ ठगी गरेको पाइएको छ ।
पीडितहरूबाट प्राप्त उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले अनुसन्धान थालेको थियो। प्रहरीले उनीहरूलाई क्रमशः काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। जसअनुसार शेर्पालाई महानगरपालिका–२, सिङतानलाई महानगरपालिका–२८ र माझीलाई महानगरपालिका–४ बाट नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।