काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण भोली मंसिर १ गतेबाट सुरु हुँदैछ । भोलिदेखि सुरु हुने यो क्रिकेट प्रतियोगिता यस पटक भने युटुबमा हेर्न नपाइने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले डिशहोम गोलाई यस वर्ष एनपीएलको आधिकारिक ओटीटी लाइभ स्ट्रिमिङ पार्टनरको रूपमा घोषणा गरिसकेको छ ।
एपमार्फत एनपीएलका खेलको प्रत्यक्ष प्रसारण हेर्न 'एनपीएल स्ट्रिम अन प्याक' खरिद गर्नुपर्ने हुन्छ । जसको मूल्य नेपालभित्र ३०० रुपैयाँ, मध्यपूर्वका लागि ५०० रुपैयाँ र त्यस बाहेकका अन्य देशहरूका लागि १० अमेरिकी डलर राखिएको छ । नेपालमा खल्ती, इसेवा र भिसा तथा मास्टरकार्डबाट र अन्य देशहरूका लागि भिसा र मास्टरकार्डबाट यसको भुक्तानी गर्न सकिने बताइएको छ ।
सबैभन्दा पहिला गुगल प्ले स्टोर अथवा एप्पल आईओएस स्टोरमा गएर डिशहोम गो एप खोजेर डाउनलोड गर्नुहोस् । डिशहोमले डिशहोम गोको नयाँ अपडेट जारी गरिसकेको छ । ठुलो स्क्रिनमा हेर्न चाहनु हुन्छ भने वेबब्राउजर अथवा एन्ड्रोइड टिभी समेत प्रयोग गर्न सकिन्छ ।

अब अन्तिममा रहेको कन्टिन्यु लेखिएको कन्टिन्यु बटनमा ट्याप गर्नुहोस् र नोटिफिकेसन पठाउने अनुमति दिने वा नदिने मध्ये कुनै एक विकल्प चयन गर्नुहोस् ।

यति गरिसकेपछि एपको होम पेजबाट तल दायाँ कुनामा रहेको मोर अप्सनबाट भित्र जानुहोस् र त्यहाँ रहेको लगइन अथवा सस्क्राइब नाउ मध्ये कुनै एक बटनमा दबाउनु होस् ।

लगइन विकल्प रोज्नु भयो भने अब मोबाइल नम्बर अथवा इमेल, फेसबुक र जिमेलको विकल्प देख्नु हुनेछ । त्यहाँबाट आफ्नो अनुकूलता अनुसार कुनै एक विकल्प रोजेर अघि बढ्न सक्नु हुन्छ ।

अब पुनः अघिकै मोर अप्सनमा थिच्नुहोस् र अघि सस्क्राइब नाउमा दबाउनुहोस् । लगइन विकल्पको साटो सुरुमा सस्क्राइब नाउबाट अघि बढ्दा पनि अर्को चरणमा लगइनको प्रक्रिया पुरा गर्नु पर्ने नै हुन्छ । 
अब त्यहाँ तपाईँले आफ्नो लोकेसन अनुसारको एनपीएल सिजन पास देखु हुनेछ । त्यसमा रहेको चुज प्लान विकल्प रोज्नुहोस् र सहजता अनुरूप भुक्तानीका लागि खल्ती, इसेवा वा भिसा तथा मास्टरकार्ड मध्ये कुनै माध्यम छानेर अन्तिममा रहेको सस्क्राइब नाउ लेखिएको बटनमा ट्याप गर्नुहोस् ।
