काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहीबार दुई खेल हुँदैछन्।
त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमनेसामने हुँदा दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ। आजको पहिलो खेल जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच दिउँसो साढे १२ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा काठमाडौं गोर्खाजले आज पहिलो खेल खेल्न लागेको हो। जनकपुर भने प्रतियोगिताको आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो। त्यसैले आजको खेलमा जनकपुर जित निकाल्दै प्रतियोगितामा फर्कने लक्ष्यमा हुनेछ भने काठमाडौं सुखद सुरुवात गर्ने योजनामा मैदान उत्रनेछ।
यस्तै, आजै साँझ ५ बजे कर्णाली याक्स र विराटनगर किंग्सबीच दोस्रो खेल हुनेछ। कर्णालीले जनकपुरलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ। विराटनगर भने आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो। आजको खेलमा कर्णाली आफ्नो जितको लय कायम राख्न चाहन्छ भने विराटनगर पहिलो जितको खोजीमा हुनेछ। दुई खेलले प्रतियोगिताको अंकतालिकामा समेत प्रभाव पार्ने भएकाले आजका दुवै प्रतिस्पर्धा महत्त्वपूर्ण रहनेछन्।