काठमाडौँ। सुदूरपश्चिम रोयल्सका ब्याटर ईशान पाण्डेले क्रिकेटमा हारजित हुनु सामान्य प्रक्रिया भएको बताएका छन्।
राम्रो प्रदर्शन गर्दागर्दै पनि कहिलेकाहीँ अपेक्षित नतिजा हात नपर्ने उनको भनाइ छ। नेपाल प्रिमियर लिग (एनपीएल) का पछिल्ला दुई सिजनमा खेलको अन्तिम समयमा नतिजा उल्टिने गरेको उल्लेख गर्दै पाण्डेले टोलीले यस्ता उतारचढावलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए।
बुधबार पोखरा एभेन्जर्ससँगको खेलपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले अघिल्लो खेलमा टोलीले ब्याटिङ क्रमसमेत परिवर्तन गरेको जानकारी दिए। उक्त खेलमा आरिफ शेखलाई माथिल्लो क्रममा ब्याटिङ गर्न पठाइए पनि ब्याटरहरूबीच राम्रो साझेदारी बन्न नसक्दा अपेक्षित नतिजा निकाल्न नसकिएको उनले बताए।