काठमाडौं ।नेपाल प्रिमियर लिग एनपीएल को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले श्रीलंकाका अनुभवी विकेटकिपर ब्याटर सदिरा समिराविक्रमलाई टोलीमा समेटेको छ।
पोखराले प्रतियोगिताको आफ्नो पहिलो खेलअघि उनलाई अनुबन्ध गर्दै टोलीको ब्याटिङ र विकेटकिपिङ पक्ष थप मजबुत बनाउने लक्ष्य लिएको छ।३१ वर्षीय समिराविक्रम श्रीलंकाका लागि टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय तीनवटै प्रारूपमा खेलिसकेका छन्। उनले श्रीलंकाको राष्ट्रिय टोलीबाट ९ टेस्ट, ५५ एकदिवसीय र १९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। सन् २०२४ को टी–२० विश्वकपमा समेत उनी श्रीलंकाली टोलीमा समावेश थिए।
समिराविक्रम यस सिजन पोखरामा आबद्ध हुने तेस्रो श्रीलंकाली खेलाडी हुन्। यसअघि पोखराले धनञ्जय लक्षणलाई निरन्तरता दिँदै चमिका करुणारत्नेलाई पनि टोलीमा भित्र्याएको थियो।पोखराले बंगलादेशका तीन अलराउण्डरलाई समेत अनुबन्ध गरिसकेको छ। टोलीमा अनुभवी खेलाडी शाकिब अल हसनसँगै मोहम्मद सैफुद्दिन र महेदी हसन रहेका छन्।कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले बुधबार सुदूरपश्चिम रोयल्सविरुद्ध यस सिजनको पहिलो खेल खेल्दैछ। टोलीले श्रीलंकाका पूर्वक्रिकेटर अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ भने भारतीय पूर्वक्रिकेटर इरफान पठानलाई क्रिकेट एम्बासडरको जिम्मेवारी दिएको छ।
विदेशी खेलाडीको अनुभव र नेपाली युवा प्रतिभाको संयोजनबाट पोखराले यसपटक पहिलोपटक एनपीएल उपाधि जित्ने लक्ष्य राखेको छ।