काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि अब नयाँ सरकार गठन कसरी हुने भन्ने विषयमा चर्चा सुरु भएको छ। विश्वासको मत नलिँदै मुख्यमन्त्री सोनलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन हुने हो कि उपधारा (३) अनुसार भन्ने विषयमा बहस चलिरहेको छ।
अधिवक्ता सुनिल रञ्जनका अनुसार, मुख्यमन्त्रीले विश्वासको मत लिनु अघि नै राजीनामा दिएको अवस्थामा संविधानको धारा १६८ को उपधारा ९२० अनुसार नयाँ मुख्यमन्त्री नियुक्त हुने बताए । विश्वासको मत लिनुअघि मुख्यमन्त्रीले राजीनामा दिएपछि यदि कुनै दललाई स्पष्ट बहुमत प्राप्त छैन भने प्रदेश प्रमुखले प्रदेश सभामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था संविधानमा रहेको उनले बताए । मधेस प्रदेशका पूर्व महान्यायाधिवक्ता दीपेन्द्र झाले पनि संविधानको धारा १६८ को उपधारा २ अनुसार नै मधेस सरकार गठन हुने बताए ।
यस्तो छ संविधानमा प्रदेश सरकार गठनको व्यवस्था
नेपालको संविधान, धारा १६८ उपधारा २ मा यदि कुनै दललाई स्पष्ट बहुमत प्राप्त छैन भने प्रदेश प्रमुखले प्रदेश सभामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था संविधानमा छ । उपधारा ३ मा उपधारा (१) वा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न नसकिएको अवस्थामा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य रहेको दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न सक्नेछ व्यवस्था छ ।
प्रदेश प्रमुखले १६८ उपधारा १ अनुसार मुख्यमन्त्री नियुक्त गरेका छन् । अबको उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त हुन्छ, यदि कुनै दलले बहुमत जुटाउन सकेन भने उपधारा ३ अनुसार प्रदेश सभामा सबैभन्दा बढी सदस्य रहेको दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री चयन गर्ने अधिवक्ता सिंहले बताए । उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले नियुक्त भएको मितिले तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ।यदि उपधारा ४ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिन असफल भए वा मुख्यमन्त्री नियुक्त गर्न नसकिएको अवस्थामा प्रदेश प्रमुखले प्रदेश सभाको विघटन गरी नयाँ प्रदेश सभा निर्वाचनको मिति तोक्ने व्यवस्था संविधानमा छ ।