काठमाडौं ।नेपाली कम्युनिष्ट पार्टी नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेशमा नयाँ सरकार गठन र त्यसको स्थायित्वका विषयमा राजनीतिक दलहरूबीच छलफल भइरहेको बताएका छन्।
उनले सरकार गठनका विभिन्न विकल्पमाथि संवाद जारी रहेको र छिट्टै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन्।पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुन बर्दिबास पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।उनका अनुसार लोकतान्त्रिक गणतन्त्रका पक्षधर दलहरूबीच सहकार्य र समन्वय कायम गर्दै मधेस प्रदेश सरकारलाई स्थायित्व दिने विषयमा छलफल भइरहेको छ। यसका लागि विभिन्न राजनीतिक विकल्प खुला राखेर संवाद अघि बढाइएको उनले स्पष्ट पारे।
प्रचण्डले आफ्नो पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान संगठन सुदृढीकरणमा केन्द्रित रहेको पनि बताए। अभियानमार्फत पार्टीको आन्तरिक कामलाई व्यवस्थित गर्नुका साथै लोकतान्त्रिक गणतन्त्र पक्षधर राजनीतिक शक्तिहरूबीच आपसी सम्बन्ध र सहकार्य विस्तार गर्ने लक्ष्य रहेको उनको भनाइ छ।यसैक्रममा नेकपाले मधेस प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम बर्दिबासमा आयोजना गरेको हो। कार्यक्रममा मधेस प्रदेशका केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा विभिन्न जिल्लाका अध्यक्ष र संयोजक सहभागी हुने पार्टीका मधेस प्रदेश इञ्चार्ज राजु खड्काले जानकारी दिएका छन्।
कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपाल पनि सहभागी हुने जनाइएको छ।