काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले तयारीमा समय दिन नसक्दा एकदिवसीय (ओडीआई)मा कमजोर नतिजा आएको बताएका छन् । ओमानमा विश्वकप छनोट तथा यूएईमा ओडीआई र टी– २० सिरिज खेलेर नेपाल फर्किएपछि कप्तान पौडेलले विश्वकप छनोटका लागि फोकस हुँदा ओडीआईमा खराब नतिजा आएको बताएका हुन् ।
गएराति त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग पौडेलले भने, ‘हामीसँग केही पनि अप्सन थिएन, किनभने टी– २० को लागि हामीले प्रिपियर गर्नु एकदम जरुरी थियो । हाम्रो लागि वर्ल्डकप क्वालिफायर इम्पोर्टेन्ट थियो । र, त्यसपछि टाइम पनि थिएन ओडीआईको लागि प्रिपयर गर्ने, त्यसलाई एक्स्क्युज गर्नेभन्दा पनि टिममा के राम्रो गर्न सकिन्छ भनेर फोकस गर्नुपर्ने हुन्छ ।’
उनले सम्पन्न ओडीआई हार्नुको जिम्मेवारी खेलाडीले लिने उल्लेख भन्दै आगामी खेलका लागि तयारी राम्रो हुने बताए । उनले ओडीआईको लागि आगामी बाटो कठिन रहेको बताए । डीआईका लागि सबै क्षेत्रबाट माथि बढ्न जरुरी रहेकोले अब त्यसमा फोकस हुने उनको भनाइ थियो । ‘स्कटल्यान्डको सिरिज सकिएपछि हाम्रो मेन फोकस टी– २० वर्ल्डकप पुग्ने थियो । त्यसमा हामी एकदम बढी फोकस थियौँ, त्यसमा कुनै पनि डाउट छैन । अब आउने दिनमा झन बढी फोकस ५० ओभरमा हुन्छ । राम्रो हुनेछ’, पौडेलले भने ।