काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई हटाउने संकेत गरेका छन् । पछिल्लो परिस्थितिअनुसार कार्यकारी निर्देशक शाक्यले बाटो खुला गर्नुपर्ने घिसिङको बुझाइ छ । शाक्यले राजीनामा नदिए मन्त्रालयले हटाउने प्रक्रिया आरम्भ गर्ने संकेत पनि घिसिङले दिएका छन् ।
शाक्यलाई यो विषयमा अनौपचारिक सन्देश पनि प्रवाहित भइसकेको छ । प्राधिकरणको कार्यकारी निर्देशक हुँदा घिसिङलाई हटाएर शाक्य आएका थिए । करिब ४ महिना बाँकी हुँदा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा ल्याएका थिए । निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले पनि घिसिङलाई हटाएर शाक्यलाई ल्याउन प्रयास गरेका थिए ।
शाक्यले पनि घिसिङबाट आफूलाई अन्याय भएको भन्दै आएका थिए । त्यसैले पहिला पनि घिसिङलाई हटाएर शाक्य कार्यकारी निर्देशक भएका थिए । त्यसपछि फेरि शाक्यलाई हटाएर घिसिङ दोस्रोपटक कार्यकारी निर्देशक हुन पुगेका थिए । कार्यकारी निर्देशकको कार्यकाल चार महिना बाँकी हुँदा शाक्यले घिसिङलाई हटाएर कार्यकारी निर्देशक भएका थिए ।