काठमाडौँ । अस्ट्रेलियाको मेलबर्नमा सडक दुर्घटनामा परी दुई नेपाली नर्सको मृत्यु भएको छ । मेलबर्नको उत्तरी क्षेत्रस्थित क्रेगीबर्ननजिकै ह्युम हाइवेमा उनीहरू दुर्घटनामा परेका हुन् । साथीसँग जन्मदिन मनाएर घर फर्कंदै गर्दा उनीहरू चढेको कार दुर्घटना भएको हो ।
घाइते कंगारुलाई बचाउन खोज्दा उनीहरू दुर्घटनामा परेका स्थानीय प्रहरीले जनाएको छ । अलफ्रेड अस्पतालमा कार्यरत दुई नेपाली नर्स सरला र अरुजाले दुर्घटनामा परी ज्यान गुमाएका हुन् ।
हाइवेमा गाडी रोकेर उनीहरूले कंगारुलाई बचाउने प्रयास गरेका थिए । सोहीक्रममा पछाडिबाट तीव्र गतिमा आएको अर्को गाडीले उनीहरूलाई ठक्कर दिएको थियो । घटनास्थलमै एक नर्सको मृत्यु भएको थियो । अस्पतालमा अर्की एक नर्सको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
प्रहरीले छानबिन अगाडि बढाएको छ । रातिको समय हाइवेमा तीव्र गतिमा हुँइकिएको सवारीसाधनले रोकिएको अर्को गाडीलाई नियाल्न नसक्दा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।