काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको बिदाई समारोह भोलि दिउँसो प्रहरी मुख्यालय, नक्सालमा विशेष कार्यक्रमसहित हुने भएको छ। भोलि मध्यरातदेखि कार्यकाल सकिन लागेका थापालाई दिउँसो आयोजित कार्यक्रममार्फत सम्मानपूर्वक बिदा गरिनेछ।
प्रहरी प्रधान कार्यालयको प्रशासन शाखाले दिउँसो २ बजे हुने कार्यक्रममा हेडक्वार्टरमा कार्यरत सिपाहीदेखि माथिका सबै कर्मचारी र अन्य युनिटका प्रहरी वरिष्ठ उपरीक्षक तथा सोभन्दा माथिका अधिकृतलाई उपस्थित हुन सर्कुलर पठाएको छ। तर, प्रहरी अस्पतालका लागि अतिरिक्त महानिरीक्षक मात्र सहभागी हुनु पर्ने व्यवस्था गरिएको छ।
बिदाई समारोहका लागि पोशाक १ नम्बरमा उपस्थित हुनुपर्ने उल्लेख गर्दै अधिकृत तहभन्दा मुनिका कर्मचारीहरूलाई १:२५ बजे, इन्स्पेक्टरलाई साढे १ बजे, डिएसपी र एसपीलाई १:३५ बजे, एसएसपीलाई १:४० बजे, डिआइजीहरूलाई पौने २ बजे र एआईजीहरूलाई १:५० बजे सभा हलमा प्रवेश गर्न उर्दी जारी गरिएको छ। हेडक्वार्टरमा कार्यरत जुनियर अधिकृत र जवानलाई ३०–३० जनाको संख्यामा मात्र समारोहमा सहभागी हुन पठाउन निर्देशन दिइएको छ।
बिदाई कार्यक्रममा महानिरीक्षक थापासँगै उनको ब्याचका एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङलाई पनि सम्मानपूर्वक बिदा गरिनेछ। अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल भने उमेर हद पुगेका कारण केही दिनअघि नै घर फर्किसकेका छन्।
प्रहरीको कमाण्ड सम्हाल्दै खापुङ
आईजीपी थापाको बिदाई पछि चन्द्रकुवेर खापुङले प्रहरीको कमाण्ड सम्हाल्नेछन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी चन्द्रकुवेर खापुङ प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) पदमा नियुक्त भईसकेका छन् । शुक्रवार बसेको मन्त्रिपरिषद्ले उनलाई भदौ १९ बाट लागू हुनेगरी नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । अहिलेको प्रहरी ऐन र नियमावलीअनुसार खापुङ छोटो समय मात्र आईजीपी पदमा रहन्छन् ।
संसदमा छलफलमा रहेको प्रहरी विधेयक पारित नभएको अवस्थामा उनले २ महिना ७ दिन मात्र प्रहरीको कमान्ड समाल्ने छन् ।वर्तमान आईजीपी थापासँगै प्रहरी अधिकृतको फारम भरेका खापुङ २०५२ कात्तिक २७ मा प्रहरी निरीक्षक पदमा नियुक्त भएका थिए । प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधि पूरा गरेर उनी आगामी कात्तिक २६ मा अवकाशमा जानेछन् ।