काठमाडौैँ । इरानको राजधानी तेहरानमा ११ जना नेपाली नागरिकलाई भारतीय दूतावासले उद्धार गर्दैछ । दूतावासले तेहरानमा भएका १७ जना नेपालीमध्ये ११ जनालाई उद्धारका लागि आइतबार तेहरानबाट उत्तरी सहर मशहद लैजादैछ ।
दूतावासले मशहदबाट उनीहरूलाई विमानबाट भारत पठाउने तयारी गरेको छ । तेहरानमा भारतीय दूतावासका अधिकारीहरु युद्धका कारण फसेका नेपालीसहित श्रीलंकाली नागरिकलाई उद्धार गरी भारत पठाउने तयारी गरिरहेका छन् ।
आइतबार तेहरानबाट मशहद जानेहरूमा उदयपुरका हरि थापा, उनका छोरा उत्सव थापा, उनका श्रीमती गायत्री कार्की थापा छन् । त्यस्तै, बुटवलका विष्णु भुसाल, बुद्धिसागर पौडेल, गणेश पोखेरल, सुमन गैरे, विष्णुप्रसाद बन्जाडे, यज्ञ मरासिनी र राजु खनाल छन् । उनीहरू ८ देखि २४ वर्षसम्म तेहरानमा रहेका विभिन्न दूतावास र इरानी रेस्टुरेन्टका काम गर्दै आएका छन् ।
इरानी जेलमा भएका ५ जना नेपालीलाई उद्धार गर्ने दिन भने तोकिएको छैन । कतारको दोहास्थित नेपाली दूतावासले ३ जनाको ट्राभल डकुमेन्ट पठाइसेको छ । दुई जनासँग राहदानी साथमै छ ।
इरानको जेलमा दाङका गोविन्द डाँगी, मदन डाँगी, पुष्कर खत्री, महेश डाँगी र बालकृष्ण खड्का छन् । उनीहरू इरानको आवासीय कानुन उल्लंन गरेको आरोपमा पक्राउ परेका हुन् । अदालतले उनीहरूलाई स्वदेश फर्काउन आदेश जारी गरिसकेको छ ।
यसअघि परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपाली नागरिकको उद्धार गर्न भारत सरकारलाई आग्रह गरेको थियो ।