काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा जोखिमलाई कारण देखाउँदै १२ देशहरूबाट अमेरिकामा यात्रा प्रतिबन्ध लगाउनेसम्बन्धी घोषणापत्रमा हस्ताक्षर गरेका छन्।
कोलोराडोको बोल्डरमा भएको यहुदी विरोधी आक्रमणपछि राष्ट्रपति ट्रम्पले यो घोषणामा हस्ताक्षर गरेका हुन् । प्रतिबन्ध जुन ९ देखि लागू हुनेछ।
प्रतिबन्धले अफगानिस्तान, म्यानमार, चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन गरी १२ देशका नागरिकहरूको अमेरिका प्रवेशलाई पूर्ण रूपमा निषेध गर्ने छ ।
त्यस्तै, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला गरी सात देशका नागरिकहरूलाई पनि आंशिक प्रतिबन्ध लगाइनेछ। यो घोषणामा ग्रिनकार्डवाहकहरू, हालका भिसावाहकहरू, केही निश्चित भिसा श्रेणीहरू र अमेरिकी राष्ट्रिय हितमा सेवा गर्ने व्यक्तिहरूलाई भने छुट दिइएको छ।