काठमाडौं । मुम्बई इन्डियन्स आईपीएलको दोस्रो क्वालिफायरमा पुगेको छ। गएराति चन्डीगढमा भएको खेलमा गुजरात टाइटन्सलाई २० रनले हराउँदै मुम्बईले दोस्रो क्वालिफायर्समा स्थान सुरक्षित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय २८ रन बनाएको थियो। मुम्बईको लागि सानदार प्रदर्शन गरेका रोहित शर्मा प्लेयर अफ दि म्याच बने।
उनले ५० बलमा १३ बाउन्ड्री लगाएर ८० रन जोडे । त्यसैगरी जोन्नी बोयरिस्टोले पनि ४७ रनको योगदान गरे । ओपनर जोडीले नै ८४ रनको साझेदारी गरेपछि मुम्बईले सानदार सुरूआत गर्यो।
सूर्यकूमार यादवले पनि ३३ रनको पारी खेले। उनी बाहिरिँदा मुम्बई १२ ओभर ६ बलमा एक सय ४३ रन बनाएको सहज अवस्थामा पुगेको थियो। त्यसैगरी, तिलक बर्माले २५ रन बनाए भने नौ बलमा कप्तान हार्दिक पाण्ड्याले २२ रन जोडे।
गुजरातका सबै बलर निकै खर्चिला बन्दा प्रसिद कृष्ण र साई किसोरले समान दुई विकेट लिए । मोहम्मद सिरजको नाममा एक विकेट रहृयो। जवाफमा गुजरातले कमजोर सुरूआत गरेपनि २० ओभरमा ६ विकेट गुमाई दुई सय ८ रन भने बनाउन सक्यो।
ठूलो लक्ष्य पछ्याउने क्रममा ओपनर सुम्भन गिल एक रनमै आउट भए। तर साई सुदर्शनले ४९ बलमा ८० रनको पारी खेले। तेस्रो नम्बनरका कुशल मेन्डिसले २० रन बनाए भने वासिङ्टन सुन्दरले पनि २४ रनको योगदान गर्न सके।
सरफर रुदरर्फडले २४ र राहुल तेवतियाले १६ रन बनाए पनि गुजरातले लक्ष्य पूरा गर्न सकेन। मुम्बईका ट्रेन्ट बोल्टले दुई साथै जसप्रित बुमराह, रिचार्ड ग्लेसन, मिचेल सान्टनर र अश्विनी कुमारले एक एक विकेट लिएर गुजरातलाई लक्ष्यसम्म पुग्न दिएनन्। अब मुम्बईले दोस्रो क्वलिफायरमा पञ्जाबको सामना गर्नेछ। पञ्जाब पहिलो क्वालिफायरमा बैंगलुरूसँग पराजित भएको थियो।