काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफका खेलहरू आजदेखि हुँदैछन् । जसअन्तर्गत आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरमा पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुँदैछ । खेल बेलुका पौने ८ बजेदेखि न्यू चण्डीगढमा सुरु हुनेछ ।
पञ्जाब लिग चरणमा शीर्ष स्थानमा तथा बेंगलुरु दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा स्थान बनाएका थिए । दुवैको समान १९ अंक भएपनि पञ्जाब नेट रनरेटमा अघि रह्यो ।
आजको खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ । त्यस्तै पराजित टोलीलाई फाइनल पुग्ने अर्को एक मौका हुनेछ । पराजित टोलीले गुजरात र मुम्बईका बीच हुने इलिमिनेटर खेलको विजेतासँग खेल्ने छ ।
मुम्बई वा गुजरातमध्ये एक टोली भने इलिमिनेटरबाटै बाहिरिने छन् । यसपटक उपाधिविहीन दुई टोली पञ्जाब र बेंगलुरुमध्ये एकले सोझै फाइनलमा स्थान बनाउने अवस्था छ ।
लिग चरणमा पञ्जाब र बेंगलुरुका बीचमा २ खेल भएको थियो जहाँ दुवै टोलीले १-१ खेल जितेका थिए । बेंगलुरुको मैदानमा पञ्जाब विजयी भएको थियो भने पञ्जाबको मैदानमा बेंगलुरुले जित निकालेको थियो ।
११ वर्षपछि पहिलोपटक प्लेअफमा पुगेको पञ्जाब यसपटक उपाधि जित्ने दाबेदारको रूपमा देखिएको छ भने बेंगलुरु पछिल्ला ६ वर्षमा ५ पटक प्लेअफमा पुगेको अवस्थामा यसपटक पनि उपाधि जित्ने लक्ष्यमा हुनेछ ।
दुवै टोलीको बलिङमा केही सुधार आवश्यक देखिएको छ । पञ्जाबका लागि सबैभन्दा बलियो पक्ष ब्याटिङ देखिएको छ जहाँ अधिकांश भारतीय ब्याटरहरूले राम्रो प्रदर्शन गरिरहेका छन् ।
पञ्जाबका लागि ब्याटिङमा ओपनरद्वय प्रभसिमरन सिंह र प्रियान्श आर्या, कप्तान श्रेयस अय्यर, नेहाल वधेरा, शशांक सिंह, जोश इङ्लिस र मार्कस स्टोइनिसले राम्रो प्रदर्शन गरिरहेका छन् । बलिङमा अर्शदीप सिंहको भूमिका महत्वपूर्ण हुनेछ ।
त्यस्तै बेंगलुरुको ब्याटिङमा पनि दुई ओपनर फिलिप साल्ट र विराट कोहली राम्रो सुरुवात दिलाउँदा मिडल अर्डरमा पछिल्लो समय केही कमजोरी देखिएको थियो । र अघिल्लो खेलमा भने निमित्त कप्तान जितेश शर्माले गजबको ब्याटिङ गरेका थिए । उनीसँगै कप्तान रजत पाटिदारको भूमिका महत्वपूर्ण रहनेछ ।
बलिङमा बेंगलुरुका लागि अस्ट्रेलियन जोश हेजलवूड टोलीमा फर्किने उच्च सम्भावना छ र पञ्जाबको बलियो ब्याटिङ लाइनअपविरुद्ध उनको प्रदर्शन नै खेलको नतिजा केही हदसम्म निर्धारण गर्न सक्छ ।