वासिङटन डिसी । अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी प्रवेशमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लगाएको प्रतिबन्धलाई अदालतले रोकेको छ। शुक्रबार म्यासाचुसेट्सका एक संघीय न्यायाधीशले हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीहरूलाई प्रवेशमा रोक लगाउने ट्रम्प प्रशासनको आदेशलाई अस्थायी रूपमा रोक लगाएका हुन्।
अमेरिकी गृह सुरक्षा विभागले विदेशी विद्यार्थीहरूले हार्वर्डबाट स्थानान्तरण गर्नुपर्ने अन्यथा उनीहरूको भिसा खतरामा पर्ने जनाएको थियो। हार्वर्डले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ।
विश्वविद्यालयलाई ७२ घण्टा भित्र बाह्य विद्यार्थीहरूको बारेमा जानकारी उपलब्ध गराउन भनिएको थियो।शुक्रबार बिहान ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थीहरूलाई भर्ना गर्ने योग्यता रद्द गरेको थियो। अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले गृह सुरक्षा विभागलाई हार्वर्डको विद्यार्थी तथा विनिमय आगन्तुक कार्यक्रमको प्रमाणीकरण तत्काल लागू हुने गरी रद्द गर्न आदेश दिएकी थिइन्।