काठमाडौँ । मलेसिया सरकारले आप्रवासी श्रमिकलाई रोजगारीको विभिन्न क्षेत्रमा रोजगारदाता परिवर्तन गर्न अनुमति दिने निर्णय गरेको छ । यसबाट नेपाली श्रमिकले पनि लाभ लिन सक्ने बताइएको छ ।
मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुतियन इस्माइलले आप्रवासी श्रमिकको व्यवस्थापन सम्बन्धी १३ औँ संयुक्त समितिको बैठकबाट सो निर्णय भएको हो ।
मलेसिया सरकारको पछिल्लो निर्णयमा औपचारिक क्षेत्र (उत्पादन, निर्माण, कृषि, बगान) र सेवा क्षेत्रका (होटेल, पर्यटन) लगायतका क्षेत्रमा काम गर्ने आप्रवासी श्रमिकले रोजगारदाता परिवर्तन गर्न अनुमति लिन सक्ने छन् ।
यसअघि मलेसिया सरकारले आप्रवासी श्रमिकलाई एकै प्रकृतिको कार्यक्षेत्रमा मात्रै रोजगारदाता कम्पनी परिवर्तन गर्ने अनुमति दिएको छ । जुन कम्पनी पुनर्संरचना, बन्द, विस्तार वा श्रम विभागको निगरानीमा रहेको समितिद्वारा अनुमोदन जस्ता सर्तमा आधारित छन् ।
दूतावासले मलेसियामा रोजगारदाता कम्पनी परिवर्तन गर्न इच्छुक श्रमिकलाई राम्रो अवसर हुने जनाएको छ । मलेसिया सरकारको पछिल्लो निर्णय अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले गरेका विभिन्न सिफारिससँग मेल खाने छन् ।