काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) नयाँदिल्ली र पाकिस्तानबिचको बढ्दो सीमा तनावका कारण अनिश्चित कालका लागि स्थगित गरिएको भारतीय मिडियाले शुक्रबार रिपोर्ट गरेका छन् ।
बिहीबार धर्मशालामा भएको खेल रद्द भएपछि क्रिकेट अधिकारीहरूले टी२० प्रतियोगिता स्थगित गर्ने निर्णय गरेका हुन् । धर्मशाला केही घण्टाअघि विस्फोट भएको जम्मू सहरबाट दुई सय किलोमिटरभन्दा कम दूरीमा छ ।
पाँच पटकको विजेता चेन्नई सुपर किङ्ग्सले एक्समा लेखेको छ, “प्रत्येक कदममा साहस । प्रत्येक धड्कनमा गर्व । हाम्रा सशस्त्र सेनाहरूलाई सलाम !”
यो खाताले सशस्त्र सेनाको तस्बिर ट्याग गरेको छ र यसमा लेखिएको छः ‘राष्ट्र पहिले । अन्य सबै कुरा पछि ।’ दस टोलीको आइपिएल मार्च २२ मा सुरु भएको थियो । आइपिएलमा विश्वभरका धेरै क्रिकेट स्टारहरू छन् र यो खेलको सबैभन्दा धनी प्रतियोगिता हो ।
लखनऊ सुपर जायन्ट्सले शुक्रबार रोयल च्यालेन्जर्स बेङ्ग्लुरुलाई आतिथ्यता गर्ने तालिका थियो । फाइनल मे २५ मा कोलकाताको इडेन गार्डेनमा हुने तालिका थियो र यसले सामान्यतया विश्वभरको ठुलो टेलिभिजन दर्शक सङ्ख्या आकर्षित गर्दछ ।
पाकिस्तान क्रिकेटले पहिले नै आफ्नो टी२० लिगका बाँकी खेलहरू खेलाडी सुरक्षाका कारण संयुक्त अरब इमिरेट्समा सार्ने निर्णय गरिसकेको छ । दक्षिण एसियाली यी दुई छिमेकीबिच दशकौँको सबैभन्दा खराब हिंसामा बुधबारदेखि सीमाका दुवैतर्फ कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।